मुकुन्देश्वरी मन्दिर पुनःनिर्माण गरिँदै

समाधान संवाददाता २०८१ फागुन २६ गते १६:२५

दमौली ।

Advertisement

तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित मुकुन्देश्वरी मन्दिर पुनःनिर्माण थालिएको छ । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त बजेटबाट मन्दिर पुनःनिर्माण थालिएको हो ।

मन्दिर पुनःनिर्माणका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु पाँच लाख र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु दश लाख बजेट विनियोजन गरिएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष सुकुमलाल गुरुङका अनुसार सो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिनेछ ।

मन्दिरसम्म पुग्न मुच्चुक गाउँबाट सात सय मिटर सिँढी निर्माण गरिएका छन् । सो कार्यका लागि बन्दीपुर गाउँपालिकाले रु ३० लाख बजेट खर्च गरेको छ । गाउँपालिकाले यसअघि रु २५ लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

मन्दिर निर्माणका लागि बन्दीपुर गाउँपालिका–३ रामकोट, बन्दीपुर गाउँपालिका–२ माथिल्लो खहरे र तल्लो खहरेका बासिन्दाले श्रमदान गरेका छन् । मुकुन्देश्वरी गढीसमेत रहेको उक्त ठाउँ नेपाल एकीकरण हुनुभन्दा पहिला तत्कालीन सेन राजाको पालामा निर्माण भएको जनविश्वास छ । यहाँ मुकुन्देश्वरी मन्दिरसहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरबार, तत्कालीन सैनिक टुँडिखेल, पानी सङ्कलनका लागि बनाइएका इनार तथा घोडा बाँध्ने तबेला रहेका छन् ।

Advertisement

स्थानीयका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरेपछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा बडादसैंमा नियमित पूजाआजा नभएपछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरबारमा खड्गदेवी प्रकट भएपछि शिखरकोदेवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ ।

अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया