पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल चैत ३ गते देखि

समाधान संवाददाता २०८१ फागुन २६ गते १९:१८

पोखरा । प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने भएको छ ।

Advertisement

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।

गण्डकी प्रदेश ह्याण्डबल संघ स्थापनाको एक वर्ष भित्रै उक्त प्रतियोगिता हुने भएको जनाउँदै संघका अध्यक्ष केशव पाठकले सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको जानकारी दिए । ‘लामो समयपछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,’ उनले भने ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल र पोखरा ह्यान्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्यान्डबल कप उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया