सिलिंगेमा ४० फिट अग्लो शिवलिंग शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ को सिलिंगेमा ४० फिट अग्लो शिवलिंगको निर्माण प्रक्रिया सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले उक्त शिवलिंगको शिलान्यास गरे ।
वडाध्यक्ष थापाले जटाशंकर धार्मिक विकास समिति मार्फत् ९ करोड रुपैयाँको डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाइएको बताए । उनले उक्त शिवलिंग निर्माणको लागत ९ करोड रुपैयाँ रहेको जानकारी दिँदै भने, ‘नौ करोडको लागतमा यदि सवै काम सम्पन्न भए भने सिलिंगे धार्मिक पर्यटनको नयाँ र व्यवस्थित गन्तव्य बन्नेछ ।’
अध्यक्ष थापाले केही समयदेखि कोटीहोम विवादले पोखराको धार्मिक वातावरणलाई प्रभावित बनाएको उल्लेख गर्दै, सबै समस्याको समाधान संवादबाट गर्न आग्रह गरे । उनले कोटीहोमका नाममा हिन्दू धर्मका अनुयायीहरूलाई विभाजित गर्ने प्रयास गरिएको भन्दै, होम, यज्ञ, यज्ञादिले सबैलाई समेट्नु पर्ने बताए । उनले हिन्दू धर्मका अनुयायीहरूलाई एकताबद्ध राख्न जोड दिँदै, धार्मिक कार्यलाई भिडका साथ गर्नु नपर्ने भनाइ राखे ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराईले आफ्नो निवृत्त जीवनलाई समाजको लागि उपयोग गर्न सुझाव दिएका थिए । उनले स्थानीय सरकारलाई धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिन आवश्यक भएको औल्याउँदै, डिपिआर अनुसार कार्य अघि बढाउन सवैको सहयोग र साथको आवश्यकता रहेको बताए ।
शिक्षाविद् रविप्रसाद बरालले मन र मस्तिष्कको समिश्रण नै आध्यात्म भएको भन्दै, धार्मिक कार्यलाई व्यापारको रूपमा प्रयोग नगर्नुपर्नेमा जोड दिए ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा सदस्य तिर्थबहादुर राजभाट लगायतले जटाशंकर धार्मिक विकास समिति र यसको गतिविधि बारेमा बोले ।
उक्त योजनाको लागत १ करोड २० लाख रुपैयाँ हुनेछ, जसमा चालु वर्षमा वडा मार्फत महानगरले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा स्थानीय भक्तजनहरूको व्यापक सहभागिता थियो ।

तपाईको प्रतिक्रिया