मातृशिशु अस्पताल व्यवस्थापन समितिको पदस्थापन

समाधान संवाददाता २०८१ फागुन २६ गते १९:५७

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका वडा १६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ ।

Advertisement

गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठनादेश २०८० अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख रहने व्यवस्था गरिएको छ । अध्यक्ष लिलाधर पौडेल अध्यक्ष पौडेलसँगै समितिका सदस्यको पनि पदस्थापन भएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, सदस्य र अस्पतालका व्यवस्थापन समितिका सचिव मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पदस्थापन गरे ।
स्वास्थ्य मन्त्री पाठकले सो अवसरमा राजनीति, विकास र सहभागितामा काम गर्न सबै पक्षलाई आह्वान गर्दै, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकार संचालित अस्पतालहरूको स्तरोन्नति गर्नका लागि नीति र कार्यक्रम निर्माणमा सरकार लागिरहेको बताए ।

उनले प्रदेशमा विशिष्ट सेवासहितका अस्पतालहरूको निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाहरूलाई सहज र सरल बनाउँदै आम जनताको पहुँचमा पुर्‍याउनेमा ध्यान पुर्‍याउन सबैलाई आह्वान गरे ।

Advertisement

नवनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताललाई समृद्ध बनाउन र सेवाहरूको सुदृढीकरणमा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको ‘स्वस्थ गण्डकी, समृद्ध गण्डकी’ निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदायलाई सहयोग गर्न आग्रह गरे ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति, भौतिक र प्राविधिक विकासमा महानगर कटिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष तथा पोखरा महानगरका पूर्व मेयर कृष्ण थापा, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगाले, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष उषा बरूवाल, अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. धर्मदेव ढकाल लगायतले मन्तव्य व्यक्त गरे ।

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरूको बिदाइ पनि गरिएको थियो । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया