सिद्धबाबा मन्दिर र थाप्ले टाइगर हिलको प्रवद्र्धनमा हाइकर्स क्लब

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ उल्लेरी गाउँको थाप्लोमा रहेको थाप्लेडाँडाको अहिले नयाँ परिचय थाप्ले टाइगर हिल भएको छ । हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको आयोजनामा ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ भन्ने मूल नाराका साथ हुँदै आएको हाइकिङको ५६ औं शृंखलामा सोही थाप्ले टाइगर हिल र ४ सय वर्ष पुरानो सिद्धबाबा मन्दिरको प्रवद्र्धन गर्न एक दिने हाइकिङ कार्यक्रमको आयोजना गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
उल्लेरी गाउँका वस्तुभाउ बिरामी हुने, चरनमा गएका हराउने भएपछि ४०० वर्षअघि सिद्धबाबाको मन्दिर स्थापना गरी पूजा गर्न थालेपछि सबै समस्या निराकरण भएको गाउँका अगुवा थाप्ले टाइगर हिल व्यवस्थापन समितिका अध्यक्ष मानसिंह गुरुङले बताए । हाल सोही ठाउँमा भ्यू टावर, स्तूप, प्रतीक्षालय, शौचालय, किचन, ४ हजार लिटरको पानी ट्यांकी, बिजुली बत्ती र जंगली जनावरहरूका लागि प्लास्टिक पोखरी लगायत भौतिक संरचनाहरू निर्माण गरिएकोले क्याम्पिङ गर्न पनि सकिने उनले बताए ।
पोखरा–२२ उल्लेरी गाउँ स्वादिलो काँक्रा उत्पादन हुने गाउँको नामले प्रख्यात रहेको र यहाँका किसानले काँक्रा बेचेर वार्षिक करोडौं आम्दानी गर्दै आएकोमा हाल होमस्टे सञ्चालनको पनि तयारी भइरहेको हाल पाहुनालाई खानबस्नको व्यवस्थापन गर्दै आएका नत्थु गुरुङले बताए ।
पृथ्वीचोक बसपार्कबाट पोखरा–२२, भूम्दीस्थित पैँयु चौतारासम्म नगरबसमा पुगेर पैदल यात्रा सुरु गरिएको सो हाइकिङमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य दीपक भण्डारी, लोकगायक छवि घर्तिमगर र गायिका दिलकुमारी खाँण, पुल्चोक क्लब पोखरा–१७ का संस्थापक अध्यक्ष सुरज खवास, ७६ वर्षीय पूर्व प्रसनि यामबहादुर रानाभाट, ट्रेकिङ गाइड नरमाया राना, व्यवसायी, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध ३२ जनाको सहभागिता रहेको क्लबकी कोषाध्यक्ष टीका आचार्य सुवेदीले बताइन् । उनले क्लबको आजीवन सदस्यका लागि ३ हजार र साधारण सदस्यता लिनको लागि ५ सय लाग्ने पनि सो अवसरमा जानकारी गराएकी थिइन् ।
हाइकर्स क्लब नेपालले हालसम्म कास्की, स्याङ्जा र तनहुँ ३ जिल्ला भित्रका १ महानगरपालिका, ६ गाउँपालिका, ३ नगरपालिकाका सामुदायिक होमस्टेहरू, ऐतिहासिक मठमन्दिर, पर्यटकीय स्थलहरूको हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया