स्ववियु निर्वाचनः पोखराका ६ क्याम्पसमा मंगलबार उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८१ फागुन २७ गते ४:३५

पोखरा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार आज उम्मेदवारी दर्ता गर्दैछन् । त्रिविले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ ।

Advertisement

स्ववियु निर्वाचन नजिकिँदै गर्दा विभिन्न विद्यार्थी संगठनहरू चुनावी अभियानमा सक्रिय भएका छन् । क्याम्पसमा चुनावी माहोल तातेको छ । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, विन्दुवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखरा नर्सिङ क्याम्पसमा स्ववियु चुनावको तयारी अन्तिम चरणमा पुगेको छ ।

वन विज्ञान क्याम्पसमा एमाले र माओवादीका विद्यार्थी संगठन मिलेर एमालेनिकट अनेरास्ववियुका अभिषेक शर्मालाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

निर्वाचनको तयारीस्वरूप त्रिविले फागुन २१ गते नै मतदाता सूची सार्वजनिक गरिसकेको छ । मतदाता सूचीमा नाम समावेश गर्न छुटेका विद्यार्थीहरूका लागि आवश्यक संशोधनको प्रक्रिया पूरा भइसकेको छ । पृथ्वीनारायण क्याम्पसमा संशोधनबाट १ जनाको नामावली थप भएको छ । यसपटकको निर्वाचनमा २८ वर्ष उमेरहद तोकिएको छ । जसका कारण केही विद्यार्थीहरू स्वतः अयोग्य बन्न पुगेका छन् । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले क्याम्पसहरूमा आ–आफ्ना गतिविधिहरू बढाएका छन् ।

वन विज्ञान संस्थानमा अनेरास्ववियु र अनेरास्ववियु क्रातिकारीको संयुक्त प्यानल बनेको छ । अन्य क्याम्पसमा पनि विद्यार्थी संगठनहरु संयुक्त प्यानल बनाएर चुनाव जाने संकेत गरेका छन् । यद्यपि सबै विद्यार्थी सोमबार बेलुकासम्म उम्मेदवार टुंग्याएका छैनन् ।

Advertisement

त्रिविले स्ववियु निर्वाचनलाई निष्पक्ष बनाउन ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ तथा आचारसंहिता जारी गरिसकेको छ । त्रिवि निर्देशिका अनुसार यसपटकको निर्वाचन मिश्रित प्रणालीमा आधारित हुनेछ । मिश्रित प्रणालीअन्तर्गत अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव लगायतका प्रमुख पदहरू प्रत्यक्ष मतदानमार्फत चयन गरिनेछ भने सदस्य पदहरूमा समानुपातिक प्रणाली लागु हुनेछ ।

चुनाव सम्पन्न गर्न त्रिविले आवश्यक सुरक्षा व्यवस्था मिलाउने जनाएको छ । त्रिविका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । स्ववियु निर्वाचन क्याम्पसको नेतृत्व चयनसँग मात्रै सीमित नरही विद्यार्थीहरूको हकहितको रक्षा, शैक्षिक सुधार तथा क्याम्पस प्रशासनमा समेत प्रभाव पार्छ । विद्यार्थीहरू आआफ्ना मुद्दा उठाउने संगठनहरूप्रति आकर्षित भएका छन् । केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रने तयारीमा छ ।

तपाईको प्रतिक्रिया