स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा डा. रघुराज काफ्ले

पोखरा । स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्ले नियुक्त भएका छन् । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा उनी उपाध्यक्ष थिए ।
समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्ले परेका थिए।
डा काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसंघीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा जिल्ला टोली नेताको रूपमा कार्य गरेको अनुभव छ। उनले समुदाय, स्थानीय तह, र जिल्ला तहको वास्तविक विकासमा विशेष योगदान दिएका छन्। गरिबी निवारण, उद्यम तथा रोजगारी प्रवर्द्धन, सामाजिक सशक्तीकरण, बाल विकास तथा महिला सहभागिता वृद्धिमा उनले विशेष दखल राख्ने गर्छन्।
डा काफ्ले चार वर्ष वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख रहे। उनले सुरक्षित, व्यवस्थित, र मर्यादित वैदेशिक रोजगारका लागि महत्वपूर्ण भूमिका निभाए। कल्याणकारी कोषमा चार गुणा वृद्धि गर्दै राहत, बिमा, गम्भीर रोग उपचार, छात्रवृत्ति र आवासीय अध्ययनका लागि नयाँ कार्यक्रम ल्याए।
उनले श्रमिक तालिममा सुधार गर्दै सार्कस्तरीय साझा प्रतिबद्धता निर्माणमा योगदान दिए। विभिन्न मुलुकसँग श्रम सम्झौता, राष्ट्रिय रोजगार नीति तर्जुमा, वैदेशिक रोजगार ऐन संशोधन र सामाजिक सुरक्षा ऐन मस्यौदा निर्माणमा समेत नेतृत्व गरे।
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षका रूपमा १९ महिना कार्यरत रहँदा उनले योजना तर्जुमा, नीति निर्माण, बजेट तर्जुमा, अनुगमन तथा विकास कार्यहरूको समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग आबद्ध रही परियोजना डिजाइन, मूल्याङ्कन, नीति विश्लेषण जस्ता कार्यमा निरन्तर संलग्न रहँदै आएका छन्। साथै, उनले करिब १२ वर्ष विभिन्न क्याम्पसहरूमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई अर्थशास्त्र तथा अनुसन्धान विषय अध्यापन गराएका छन्।
डा काफ्ले लामो समयदेखि प्रदेश, संघ र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गर्दै नीति निर्माणमा संलग्न रहँदै आएका छन्। उनले स्रोत परिचालन, समन्वय तथा सहकार्यमा विशेष दखल राख्छन्। नेपाल सरकारका नीति निर्माण प्रक्रियामा लामो समयदेखि संलग्न रहँदै आएका उनले सधैँ नीति निर्माण र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्।
डा काफ्ले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलका सदस्यसमेत हुन् ।
बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको मन्त्रिपरिषद् स्रोतको दाबी छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया