हिमाली सांस्कृतिक परिवार पोखरालाई चतुर्भुज आशावादी सम्मान

समाधान संवाददाता २०८१ फागुन २७ गते १९:१२

पोखरा । लोक नृत्यको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा योगदान पुर्‍याएको हिमाली सांस्कृतिक परिवार पोखरालाई २०८१ सालको चतुर्भुज आशावादी कलाकारिता सम्मान तथा पुरस्कारबाट विभूषित गरिएको छ ।

Advertisement

वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ८१ औ जन्म जयन्तीको सन्दर्भमा भानु कला केन्द्र तथा भानु मोरङ सांस्कृतिक समिति विराटनगर १० ले परिवारलाई नगद ३० हजारसहित सम्मान गरेको हो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले परिवारका अध्यक्ष ज्ञानबहादुर थापालाई सो पुरस्कार प्रदान गरे ।

‘संस्कृति बचाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ भएको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारले गण्डकी प्रदेशमा प्रचलित घाटु, कौरा, कर्पुटार झयाउरे र थकाली नाँच देखाएका थिए । भानु कला केन्द्रका कलाकारले मैथली नृत्य प्रस्तुत गरे । कार्यक्रममा कोशी प्रदेशको सांस्कृतिक झाँकी समेत देखाइएको थियो ।

भानु कला केन्द्रका अध्यक्ष माया पौडेल आशावादीले समग्र गण्डकी प्रदेशको लोक नृत्यको संरक्षण गर्न परिवारको योगदान रहेको बताइन् । उनले आगामी दिनमा समेत दुबै कलाकारको संस्थाबीच सांस्कृतिक आदान प्रदानको कार्यक्रम निरन्तर रहने उल्लेख गरिन् ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष थापाले वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको नाममा स्थापित कलाकारिता सम्मानले संस्थाको गरिमा बढेको बताए । उनले परिवारलाई योग्य ठानेर सम्मान गरेकोमा संस्थाप्रति आभार प्रकट गरे ।

परिवारका पदाधिकारी, कार्यसमितिका सदस्य, मानार्थ सदस्य र कलाकार गरी ३४ जनाको टोलीले विराटनगर र धरानको सांस्कृतिक भ्रमण गरेको छ । परिवारको टोलीले सांस्कृतिक विभूति आशावादीको शालिकमा माल्यार्पण गरेको छ । सांस्कृतिक टोलीको सम्मानमा धरान नृत्य कला केन्द्रले स्वागत कार्यक्रम राखेको छ । केन्द्रका अध्यक्ष नन्दा राईले सांस्कृतिक अनुभव आदानप्रदानलाई निरन्तरता दिन आग्रह गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया