प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुबीच छलफल गरी तयारी सुरू गरेको हो ।
२०८२ को जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीलाई चैत ५ गतेसम्म दर्ताका लागि खुला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
परिषदले पालिका तहबाटै खेलाडी छनोटका लागि तयारी सुरू गरिएको बताउँदै सदस्य सचिव शर्माले पालिका खेलकुद विकास समितिको समन्वयमा चैत १५ देखि २० गतेभित्र पालिका छनोट गर्ने तथा चैत्र २५ गतेभित्र जिल्ला छनोट सम्पन्न गर्ने गरी सबै जिल्ला खेलकुद विकास समिति र खेल संघहरुलाई पत्रचार गरिएको उल्लेख गरे ।
प्रदेशस्तरीय छनोट प्रतियोगिता चैत २६ देखि २०८२ वैशाख ५ गतेसम्म सम्पन्न गर्ने गरी राष्ट्रिय प्रतियोगिताका लागि प्राप्त खेलाडी कोटा बमोजिम अन्तिम छनोट गर्ने जनाइएको छ ।
परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त उपलब्धिको जर्गेना गर्दै तीन छुट्टा–छुट्टै रुपमा खेल वर्गीकरण गरी सोही अनुसार बन्द प्रशिक्षणसमेत गर्ने गरी तयारी भएको सदस्य सचिव शर्माले जानकारी दिए ।
परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेशस्तरीय छनोट सबै जिल्लामा हुने गरी तय भएकोसमेत जनाएको छ । राष्ट्रिय खेलकुदका लागि हालसम्म गण्डकी प्रदेशका ११ जिल्लामा ३ हजार ३ सय ७६ जना खेलाडी दर्ता भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् । कास्कीमा सर्वधिक १ हजार ५८ जना, नवलपुरमा ५ सय ६१, तनहुँ २ सय ६, गोर्खा १ सय ४२, पर्वत २ सय ५९, मनाङ ३ सय ३, मुस्ताङ ६३, बाग्लुङ ३ सय ७, स्याङ्जा २ सय ४४, लमजुङ ७२, म्याग्दी १ सय ६१ जना खेलाडी दर्ता भएका छन् ।
सदस्य सचिव शर्माले छनोट खेललाई प्रभावकारी बनाउन खेल संघहरुलाई आग्रह गर्दै छनोट प्रक्रियामा खेलाडीलाई समान रुपले अवसर दिन र उनीहरुलाई उत्साहित बनाउँदै प्रदेशका लागि पदक प्राप्त गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरूङले सबैले एकजुट भएर खेलाडीलाई उत्साहित बनाउँदै दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । उनले कुनै समस्या भएमा परिषद समाधान गर्न तयार रहेको जनाउँदै पालिका तहदेखि प्रदेश तहसम्मको छनोटले प्रदेशले उत्कृष्ट खेलाडी पाउनेमा विश्वस्त रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया