मुस्ताङमा ८ महिनामा साढे १२ लाख ट्राफिक राजस्व

जोमसोम । मुस्ताङमा यो वर्षको साउनदेखि फागुन महिनाको २३ गतेसम्म १२ लाख ४५ हजार ट्राफिक राजस्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु वर्षको ८ महिना नपुग्दै मुस्ताङ भित्रिएका १ हजार ६४ सवारी साधनलाई कारवाही गर्दा उक्त ट्राफिक राजस्व संकलन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार मुस्ताङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई प्रचलित कानुन बमोजिम ट्राफिक जरिवाना लिएर कारवाहीको दायरामा ल्याउने कार्य भएको बताए । प्रहरी निरीक्षक अधिकारीका अनुसार मुस्ताङमा चालु वर्षको साउनमा ७५ सवारीलाई कारवाही गर्दा ७१ हजार ५ सय, भदौमा १ सय ९ वटा सवारी साधनलाई कारवाही गर्दा ९० हजार ५ सय, असोजमा १ सय ८१ वटा सवारी साधनलाई कारवाही गर्दा २० हजार ९ सय राजस्व जम्मा भएको छ ।
कात्तिकमा २ सय ३८ वटा सवारी साधनलाई कारवाही गर्दा २ लाख ९४ हजार, मंसिरमा १ सय ६१ वटा सवारीलाई कारवाही गर्दा २ लाख ११ हजार, पुसमा १ सय ४१ वटा सवारी साधनलाई कारवाही गर्दा १ लाख ६९ हजार, माघमा ९७ वटा सवारी साधनलाई कारवाही गर्दा १ लाख २१ हजार र फागुन २३ गतेसम्म ६२ वटा सवारी साधनलाई कारवाही गर्दा ७९ हजार ट्राफिक राजस्व संकलन भएको हो ।
मुस्ताङमा चालु गत आर्थिक वर्ष संकलन भएको ट्राफिक राजस्वको अनुपातमा ८ महिनाको फेरोमा २९ दशमलव ९४ प्रतिशतमात्रै छ । गत आर्थिक वर्षभन्दा चालु वर्षको ८ महिना अवधिमा १९ प्रतिशतमात्रै सवारी साधन कारवाहीमा परेका हुन् । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार मुस्ताङमा वर्षको १२ महिना अवधिमा ५ हजार ५ सय ९८ वटा सवारी साधनलाई कारवाही गर्दा ४१ लाख ५७ हजार ५ सय राजस्व संकलन भएको थियो ।
प्रहरी निरीक्षक अधिकारीले हिउँदको जाडो सकिएर गर्मीयाम सुरु भएकाले मुस्ताङमा सवारी साधन भित्रिने क्रम बढेको उल्लेख गरे । चालु वर्षको ४ महिना अझै बाँकी रहेको उक्त समय सवारी साधन अधिकतम रुपमा मुस्ताङ भित्रिने प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । मुस्ताङमा राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज बन्दै जान थालेपछिसवारी साधन तथा यात्रुको चाप बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले ट्राफिक नियम उलङ्घन गरी सवारी चलाउने चालक, मापसे सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने चालक, हेलमेट नलगाउने, प्रयोजन विपरीत सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने र आवश्यक कागजात नलिई सवारी चलाउनेबाट राजस्व संकलन गर्ने गरिएको इन्चार्ज भुवन क्षेत्रीले बताए ।
तपाईको प्रतिक्रिया