२२ दिन साइकल यात्रा गरी जोमसोम भारतीय स्वामी रसिक भोला

सुन्दरकुमार थकाली २०८१ फागुन २८ गते ५:११

जोमसोम । सेतै फुलेको लामो कपाल र दाह्री, अग्लो कद । तल सेतो कछाड, खुट्टामा चप्पल । काँधमा सानो झोला र साथमा पुरानो साइकल । यस्तै परिदृष्यमा एक भारतीय स्वामी मुस्ताङको जोमसोमस्थित पर्यटक प्रहरीको चेकपोस्टमा मंगलबार बिहान टुप्लुक्क भेटिए ।

Advertisement

साइकलको अगाडि पहेलो झन्डा र पछाडि नेपाल र भारतको झन्डासहित भेटिए भारतीय स्वामी रसिक भोला । भोला पर्यटक प्रहरीको चेकपोस्टमा रोकिए । त्यहाँ उनले आफ्नो यात्राबारे खटिएका प्रहरीलाई जानकारी दिए । त्यस क्रममा उनले आफ्नो नेपालमा साइकल यात्राबारे जानकारी दिए ।

भारतको गुजरात स्थित राजकोट जिल्लाबाट नेपालका धार्मिक तीर्थस्थलहरु अवलोकन गर्ने उद्देश्य लिएर साइकल यात्राको माध्यमबाट जोमसोम आइपुगेका हुन् उनी । उनी लगातार २२ दिनको यात्रा गर्दै यहाँ आएका हुन् । मुक्तिनाथमा ५ दिन बसेर पूजापाठ र दर्शन गर्ने गरी सुनौली नाकाबाट उनी नेपाल प्रवेश गरेका थिए ।

साइकल यात्रा गर्दै धार्मिक स्थलह अवलोकन गर्ने र नयाँ नयाँ ठाउँबाट केही सिक्न नेपाल भ्रमणमा आएको उनी बताउँछन् । उनी लुम्बिनी, बुटवल, सिद्धबाबा मन्दिर, राम्दी, पोखरा हुँदै जोमसोम आएका हुन् । भोला भन्छन्, ‘भगवानको कृपाले यहाँसम्म आईपुगें । शारीरिक शक्ति र खर्च भगवानले नै पुर्‍याइदिने गर्नु हुन्छ ।’

नेपालका तीर्थस्थल भ्रमण गर्ने क्रममा साईकल चढेर आउँदा आफूलाई कुनै सास्ती र झन्झट व्यवहोर्न नपरेको उनले सुनाए । साइकल यात्रा गर्दै आउँदा नेपालीले दिएको सम्मान, साथ र सहयोगले उत्साहित तुल्याएको भोलाको भनाइ छ ।

Advertisement

नेपालको तीर्थस्थल अवलोकन तथा दर्शन गर्न आइपुगेका भोलाले नेपालमा थप ३ महिना बिताउने योजना बनाएका छन् । मुक्तिनाथ दर्शन र पूजापाठ सकेर पशुपतितर्फ लाग्ने उनको योजना छ । भारतको ९० प्रतिशत क्षेत्रमा साइकल यात्रा गर्दै धार्मिकस्थलको दर्शन पूरा गरिसकेका स्वामी भोलाले भारतको उत्तराखण्डदेखि कल्याणकुमारी, रामेश्वर, नगन्नाथपुरी, द्वारिकापुरी लगायतका चारधामको यात्रा साइकलबाटै तय गरिसकेको उल्लेख गरे ।

नेपाल यात्रापछि फर्किएर भारतको मेघालय, सिक्किम लगायतका पर्वतीय क्षेत्रमा साइकल यात्रा गर्ने योजनामा उनी छन् । त्यसो त स्वामी रसिक भोलाले चीनको स्वशासित क्षेत्र तिब्बत स्थित मानकैलाशको समेत पैदल यात्रा गरिसकेका छन् । स्वामी रसिक यसअघि सन् २०१४ मा पनि पैदल यात्रा गर्दै मुक्तिनाथ आएका थिए ।

सानै उमेरदेखि साइकल चढ्दै आएका स्वामी साइकल यात्रा गर्दा आफूलाई कुनै दुःख नभएको बताउँछन् । सन् २०१७ देखि निरन्तर साइकल चढेर धार्मिक स्थल भ्रमण गर्ने गरेका स्वामी भोला नेपालबाट फर्किएर भारतमा बाँकी रहेका स्थाल भ्रमण साइकलबाटै पूरा गर्ने उल्लेख गर्छन् ।

‘मैलै भारतका १९ वटा प्रान्त साइकल चढेर यात्रा गरिसकेको छु । यहाँबाट फर्किएपछि फेरि भारतका बाँकी रहेका ठाउँ घुम्नेछु,’ उनले भने ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया