प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी

देउखुरी (दाङ) । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मङ्गलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्यो ।
दीपक डुम्रेको अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरूद्ध ४ विकेटको जित निकालेको हो । सामान्य लक्ष्य पछ्याएको गण्डकीका सुरूवाती ब्याटर आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए । बाह्र ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा दीपक र सुजनले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे ।
दीपक डुम्रेले सात चौकाको मद्दतमा ५० रन र सुजन गौतमले ३ चौकाको मद्दतमा २२ रन बनाए ।
टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दीपक डुम्रे प्लेयर अफ द म्याच भए । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्ती १७ रन, विपिन रावलले १५ रन, हिमांशु शाहीले १२ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अङ्कको रन जोड्न नसक्दा २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रन बनायो ।
अब प्रतियोगिताअन्तरर्गत बिहीबार विभागीय टिम एपिएफ र मधेस प्रदेशबीच खेल हुने तालिका रहेको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।
दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्काे टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
—
तपाईको प्रतिक्रिया