सम्पादकीय—अवैध अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारको जालो

नेपालमा अवैध अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारको फैलँदो जालो गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो समय प्रविधिको विकाससँगै डिजिटल कारोबारको विस्तारले सकारात्मक अवसर सिर्जना गरे पनि यसको दुरुपयोग हुने क्रम बढ्दै गएको छ । नेपालमा अनलाइन जुवा र अवैध क्रिप्टोकरेन्सी कारोबारको प्रभाव बढिरहेको अवस्थामा, कास्की प्रहरीले हालै पक्रिएको गिरोह यसको ज्वलन्त उदाहरण हो । अमेरिकी प्रहरीको निगरानीमा रहेका रुपेन्द्र जिसी नेपाल फर्केपछि पनि सोही अवैध धन्दामा सक्रिय रहेको पुष्टि भएको छ ।
रुपेन्द्र जिसी उच्च शिक्षा हासिल गर्न अमेरिका गएका थिए । प्रविधिमा रुचि राखेका उनले आइटी इन्जिनियरिङ अध्ययन गरे । अध्ययनपछि केही समय वैधानिक रूपमा काम गरे पनि विस्तारै उनले गैरकानुनी आर्थिक कारोबारतर्फ ध्यान केन्द्रित गरे । उनले पोखरामा तीन तले घर निर्माण गरे र त्यहीँबाट अनलाइन जुवा सञ्चालन गर्न थाले । प्रहरी अनुसन्धान अनुसार, उनले आफ्ना नजिकका आफन्तलाई समेत यस धन्दामा संलग्न गराएका थिए ।
अनलाइन जुवाका लागि उनीहरूले म्यासेन्जर, ह्वाट्सएप, टेलिग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्दै ‘जुवा भन्ने एप’, ‘गेमभोल्टु’ ‘फिक्रिनी’, ‘ओरिबन’ लगायतका एपहरू मार्फत जुवा खेलाउने गरेका थिए । प्रहरीका अनुसार, उनीहरूले हुन्डी कारोबार गर्दै विदेशमा समेत आर्थिक संजाल फैलाएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार, अनलाइन जुवाबाट १५ करोड र क्रिप्टोकरेन्सी कारोबारबाट १५ करोड गरी ३० करोड रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ ।
यस घटनाले नेपालमा प्रविधिको दुरुपयोगको गम्भीर अवस्था उजागर गरेको छ । अनलाइन जुवा र अवैध क्रिप्टोकरेन्सी कारोबार केवल व्यक्तिगत आर्थिक फाइदाको लागि मात्र नभई समाजमा गलत प्रवृत्तिलाई पनि प्रोत्साहित गर्ने माध्यम बनेको छ । नेपालमा डिजिटल कारोबारको नियमन गर्ने कानुनी संरचना अपेक्षाकृत रूपमा सबल छैन, जसले यस्ता गतिविधिहरूलाई मौलाउने अवसर प्रदान गरिरहेको देखिन्छ ।
यस प्रकारको आपराधिक प्रवृत्र् िनियन्त्रण गर्नका लागि सरकार, सुरक्षा निकाय तथा डिजिटल वित्तीय नियामक निकायहरूबीच समन्वय आवश्यक छ । सरकारले प्रविधिको दुरुपयोगलाई रोक्न कडा कानुनी कारबाहीको नीति अपनाउनु पर्ने देखिन्छ । साथै, डिजिटल कारोबारलाई पारदर्शी बनाउन र वित्तीय प्रवाहलाई नियमन गर्न प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्न आवश्यक छ । समाजमा यस्ता गैरकानुनी क्रियाकलापको प्रभावबारे जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी छ ।
नेपालजस्तो विकासशील देशमा आर्थिक अपराधका यस्ता जालोहरू विस्तार हुनु गम्भीर चुनौतीको संकेत हो । प्रविधिको सही प्रयोगले देशको आर्थिक वृद्धिमा टेवा र्पुयाउन सकिन्छ, तर गलत प्रयोगले समाजलाई नै कमजोर बनाउने खतरा रहन्छ । यस्तो अवस्थामा, सरकारी निकायको चुस्त अनुगमन, कानुनी संरचनाको सशक्तीकरण, प्रविधिको सही उपयोग, र जनचेतनाको अभिवृद्धि नै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रमुख उपाय हुन सक्छन् ।
तपाईको प्रतिक्रिया