पोखरा-छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, पर्यटनमा नयाँ आशा

पोखरा ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रतिक्षा समाप्त भएको छ। चिनियाँ एयरलाइन्स सिचुआनको जहाजमार्फत १२७ चिनियाँ पर्यटक चैत ५ गते बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। सोही दिन १२७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्नेछन्।
पहिलो चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक, पोखरा पर्यटन परिषद अध्यक्ष, विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरू तथा व्यवसायीहरू रहनेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा गण्डकी प्रदेशको पर्यटन व्यवसाय प्रभावित भएको थियो। यस मागलाई सम्बोधन गर्न पोखरा पर्यटन परिषद, चिनियाँ दूतावास र सिचुआन एयरलाइन्सको सहकार्यमा उडान सुरू गरिएको हो।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीका अनुसार तीन महिनासम्म करिब १,२५० चिनियाँ पर्यटक ल्याउने लक्ष्य राखिएको छ। प्रारम्भमा चार्टर्ड उडान हुने भए पनि विस्तारै नियमित अन्तर्राष्ट्रिय उडानमा परिवर्तन गर्ने योजना छ। चिनियाँ दूतावास, सिचुआन एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले यो पहलमा सहकार्य गरेका छन्।
पहिलो उडानमा जाने नेपाली टोली आठ दिने भ्रमणका लागि छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ जानेछ। त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ। चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ।
नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख मणिराज लामिछानेका अनुसार नेपाल पर्यटन बोर्ड र नेपली दूतावासको सहकार्यमा चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिनेछ। पोखरा महानगरपालिकाका मेयरले लुझाउका उच्च अधिकारीहरूसँग सहकार्यबारे छलफल गर्नेछन्।
मेयर धनराज आचार्यका अनुसार विमानस्थल अब पूर्णरूपमा अन्तर्राष्ट्रिय भइसकेको छ। उनले पोखरा-छेन्दु उडान केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई दुई शहरबीच सम्बन्ध मजबुत बनाउने अवसर भएको बताए। विमानस्थलको सेवा अब चौबीसै घण्टा सञ्चालनमा रहेको र यसले अन्तर्राष्ट्रिय उडानका लागि सहज वातावरण बनाएको उनले उल्लेख गरे।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पत्रकारहरूलाई यात्रा खर्चको ५०% सम्म सहयोग गर्ने वातावरण मिलाएको छ। पहिलो उडानको प्याकेज १ लाख १३ हजार रुपैयाँ तोकिएको छ, जसमा व्यक्तिगत खर्च समावेश हुने छैन। दोस्रो उडानमा पर्यटन व्यवसायीहरू समेटिनेछन् भने तेस्रो उडानमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनेछन्।
चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय नियमित उडान सुरू भएकोमा बधाई दिँदै निरन्तरता दिन स्थानीय निकाय र पर्यटन संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
पर्यटन व्यवसायीहरूका अनुसार यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनेछ। सरकारले, पर्यटन बोर्डले, स्थानीय निकायहरूले र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको पोखरा पर्यटन परिषदले जनाएको छ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक गोपी बहादुर भट्टराईले विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न र थप अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न आवश्यक सहकार्यको आवश्यकता रहेको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान पर्यटन, व्यापार र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम सावित हुने आशा गरिएको छ। स्थानीय सरकार, पर्यटन परिषद, निजी क्षेत्र र चिनियाँ पक्षबीचको सहकार्यले विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानमा परिणत गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया