पोखरा बहुमुखी क्याम्पसमा साइबर अपराध सचेतना

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसमा मंगलबार विद्यार्थीका लागि साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।
नेपाल प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी कास्कीको आयोजना र पोखरा बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले सहजीकरण तथा प्रशिक्षण दिएका थिए । अरुकाे कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने काम सामाजिक अपराध रहेकाे उनले बताए ।
कानुनले बन्देज गरेका सबै कुरा अपराध हुने बताउँदै प्रहरी बरिस्ठ नायव निरीक्षक रोकाहले कुनैपनि किसिमका पासवर्ड अरुलाई दिन नहुने, नचिनेको कोहीसँग सामाजिक सञ्जालमा साथी नबन्न, स्पष्ट र श्रोत नखुलेको सूचना, समाचार शेयर गर्न नहुने बताए ।
कार्यक्रममा साइबर अपराध हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्था बारेमा अभिमुखीकरण गरिएको थियो ।
प्रहरीका अनुसार, पछिल्लो समय कास्कीमा मात्र नभई देशभरि साइबर अपराध बढेको छ । रोजगारीको प्रलोभन, विभिन्न लट्रीका नाममा ह्याक, सामाजिक सञ्जालको फेक अकाउन्ट , लागायतका गतिविधिबाट ठगीमा परेका घटना प्रहरीमा धरै आउने गरेको कार्यक्रममा बताइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले सामाजिक सञ्जालको गलत प्रयोगले साईबर अपराध बढेकाे तथा ज्यानै पनि जाने गरेकाे बताए । सामाजिक सञ्जाल ह्याक भएमा, ब्ल्याक मेल वा त्यसता कुनै पनि गतिविधि गरेमा प्रहरीमा उजुरी गर्न आग्रह गरे ।
व्यवस्थापन संकाय प्रथम वर्षका संकल्प थापाले अनलाइन व्यवसायको स्क्याममा परेको अनुभव सुनाउँदै यस्तो तालिम तथा प्रशिक्षण सबै उमेर समूहका लागि आवश्यक भएको बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीका लागि महत्त्वपूर्ण र जिवन उपयोगी तालिम रहेकाे बताउँदै प्रहरी कार्यालय कास्कीलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा करिब ७० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया