सम्पादकीय—सिचुवान उडान निरन्तर होस्‌

समाधान संवाददाता २०८१ फागुन २९ गते १०:४३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष पूरा भइसकेको छ । २०७९ पुस १७ गते सुरु भएको विमानस्थलमा अहिलेसम्म केवल ८ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ती सबै चार्टर्ड उडान थिए । अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नभएको भए तिनै चार्टर्ड विमान पनि पोखरा ओर्लिन सम्भव हुन्थेन भन्ने हिसाबले सुखद मान्न सकिन्छ तर खासमा भने यहाँबाट नियमित अन्तर्राष्ट्रिय हुनुपर्ने हो, त्यो भइरहेको छैन । हाला कि आन्तरिक विमान सेवा पनि राति अबेरसम्म चलिरहेर धेरै सुविधाचाहिँ भएकै छ । चैत ५ गते चीनको सिचुवान एयरलाइन्स पोखरा आउने र त्यसै दिन पोखराबाट यात्रु लिएर छेन्दु सहर जाने सार्वजनिक भइसकेको छ । उक्त एयरलाइन्सले पोखराबाट नियमित उडान चाहेको छ र त्यसै अनुसारको योजना बनाएको छ भन्ने समाचार आफैमा सुखद हो । तर चुनौती र शंकाको विषयचाहिँ के उसको उडान नियमित होला भन्ने हो ।

Advertisement


पोखरा पर्यटन परिषदको पहलमा चिनियाँ दूतावास, सिचुआन एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुको सहकार्यमा तीन महिनासम्म १,२५० पर्यटक ल्याउने योजना बनाइएको छ । तर, चार्टर्ड उडानमात्र दीर्घकालीन समाधान होइन । यदि विमानस्थललाई पूर्णरूपमा उपयोग गर्न सकिँदैन भने सरकारले गरेको लगानीको उचित प्रतिफल आउँदैन । नेपाल सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न सकिरहेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुविधाहरू पोखरामा नभएकाले धेरै एयरलाइन्सले पोखरालाई प्राथमिकता दिँदैनन् ।


पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउनुपर्छ । गण्डकी प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाउनुपर्छ । स्थानीय होटल तथा पर्यटन व्यवसायीहरूले विमानस्थललाई सफल बनाउने पहल गर्नुपर्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण संरचना हो।

तर, हालको अवस्थामा यो विमानस्थल पूर्ण रूपमा उपयोग हुन सकेको छैन । सरकारले चाँडै नै गम्भीर नीति निर्माण नगरेमा यो परियोजना केवल खर्चिलो पूर्वाधार मात्र बन्नेछ । पोखरालाई साँच्चै अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउन अब व्यवहारिक कदम चाल्नु आवश्यक छ । २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय उडानसँग जोड्ने सपना देखाएको थियो । तर, त्यो सपना साकार हुन नसक्नु ठूलो बिडम्वना हो ।

Advertisement

तपाईको प्रतिक्रिया