फोनिज गण्डकीमा खिमाको नेतृत्व

पर्वतका पत्रकार सञ्जय रेग्मीलाई मिलन पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०८१ फागुन २९ गते १०:५३

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको तेस्रो महाधिवेशनले खिमा गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ । बुधबार भएको प्रादेशिक महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

Advertisement


कास्कीकी अध्यक्ष गुरुङ रेडियो गोर्खालीमा आवद्ध छिन् । उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ ॅसुमन’ (कास्की), उपाध्यक्ष महिलामा शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापामगर (कास्की), सचिव खुलामा दिलप्रसाद गुरुङ (कास्की), सचिव महिलामा कला राना (स्याङ्जा) र कोषाध्यक्षमा सुमन थापामगर (कास्की) चुनिए । उपाध्यक्ष खुलामा निर्वाचित समाधानकर्मी हुन् ।


कार्यसमिति सदस्यहरुमा यमबहादुर सोनै मगर (नवलपुर), खडकबहादुर आले (तनहुँ), मनबहादुर गुरुङ (कास्की), चेतबहादुर थापा (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की), कृष्ण श्रेष्ठ (कास्की) र कविता घर्तीमगर (कास्की) छन् । प्रदेश महाधिवेशनबाट सङ्घीय प्रतिनिधिमा रुद्र श्रीसमगर, रत्ना गुरुङ, यामबहादुर थापामगर र अर्जुन गाहा (सुशान्त)लाई चयन गरेको छ ।


यसअघि फोनिज गण्डकीको महाधिवेशन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले उद्घाटन गरेका थिए । गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसैलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । संविधान जारी भएको एक दशक नपुग्दै पुरानो व्यवस्थाको लाभ लिएका र अराजक समूहले यो व्यवस्थाप्रति अफवाह फैलाउन थालेको उनको टिप्पणी छ ।


गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यही संविधान र यही व्यवस्थाबाटै देशको कायाकल्प हुने दाबी गरे । अहिलेका संविधानको विकल्प र अहिलेको व्यवस्थाको विकल्प सम्भव छैन,’ उनी भन्छन्, आधुनिक र जनसहभागितामूलक अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन संविधान लागू गर्दै, ऐनहरु बनाउँदै अघि बढ्नुपर्छ ।’

Advertisement


उनले लोकतन्त्र र पत्रकारिता एकअर्काका परिपूरक भएको उल्लेख गरे । गण्डकी सरकार पत्रकारिताको विकास र समृद्धिका लागि यथोचित प्रबन्ध गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए । स्थिर सरकार र समृद्धिका लागि दुई प्रमुख दलको सत्ता सहकार्य भएको उल्लेख गर्दै उनले जनताका अपेक्षा पूरा गर्ने गरी सरकारअघि बढेको उल्लेख गरे ।


कार्यक्रममा फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले फोनिजमा आवद्ध पत्रकारहरुले एकसाथ दुई दायित्व निर्वाह गरिरहेको विचार राखे । उनले एकातिर पत्रकारिताको व्यावसायिक विकास र अर्कातिर आदिवासी, जनजातिका सवाललाई मुखरित गर्दै अघि बढिरहेको उनको भनाइ छ । प्रदेश अधिवेशनमा फोनिजका संघीय महासचिव समीर बलामीले देशभरका साढे चार हजार पत्रकार आवद्ध फोनिज एउटा अभियान र आन्दोलन भएको विचार राखे ।


सोही समारोहमा फोनिज गण्डकीद्वारा सञ्चालित मिलन पत्रकारिता पुरस्कार २०८१ बाट पर्वतका पत्रकार सञ्जय रेग्मीलाई सम्मान गरियो । पुरस्कार राशि २० हजार एक सय ११ रुपैयाँ र सम्मानपत्र छ । सोही अवसरमा फोनिज गण्डकीले नेपाल पत्रकार महासंघ, गण्डकी, खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ, संस्थामा निर्वाचित फोनिजका सदस्यहरुलाई समेत सम्मान गरेको छ । कार्यसमिति सदस्य सुमन गुरुङ उत्कृष्ट कार्यसमिति सदस्यका रुपमा नगद पाँच हजारसहित सम्मानित बनिन् ।


फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीषमगरको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, फोनिज गण्डकी इन्चार्ज एमबी आस्था मगर, मिलन फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङ, फोनिज गण्डकी उपाध्यक्ष खिमा गुरुङ, महासचिव धनबहादुर गुरुङ ‘सुमन’, पुरस्कृत पत्रकार सञ्जय रेग्मी लगायतले बोलेका थिए । प्रादेशिक महाधिवेशनमा गण्डकीका आठ जिल्लाका प्रतिनिधि सहभागी थिए । फोनिजको केन्द्रीय महाधिवेशन आगामी चैत अन्तिम साता लुम्बिनीमा हुनेछ ।

तपाईको प्रतिक्रिया