घरघरमा प्रहरी अभियान सुरु

पोखरा ।
जनतामा शान्ति सुरक्षाको प्रत्याभूति गराउने गरी नेपाल प्रहरी ल्याएको ‘घरघरमा प्रहरी अभियान’ सोमवारदेखि कास्कीको लेखनाथमा सुरु गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ सम्म, मादी गाउँपालिका र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाएको इलाका प्रहरी कार्यालय शिशुवाले सोमवार राखेको कार्यक्रममा कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले घरघरमा प्रहरी अभियान सुरु गरेका हुन् ।
कुनै पनि शंकास्पद गतिविधि देखेमा वा थाहा भएमा साथै सुरक्षा सम्बन्धी कुनै पनि समस्या परेमा प्रहरीलाई सम्झनु भन्ने स्टीकर बनाएर आफ्नो कार्यक्षेत्रका सबै घरधुरीहरूमा टाँस्ने अभियानले जनतामा शान्ति सुरक्षाको महसुस हुने र अन्यायमा परेकाले न्याय पाउने विश्वास लिइएको छ ।
अभियानको शुभारम्भ गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले ग्रामीण क्षेत्रमा प्रहरीको पहुँच सहज रुपमा पुर्याउनका लागि र आफु अन्यायमा परेर पनि समस्यालाई बाहिर ल्याउन नसेका पीडितहरूको पक्षमा काम गर्ने गरी अभियान सञ्चालन गरेको बताएका थिए ।
समाजमा भएका व्यक्तिहरूले घटना घटाउने र पीडित पनि त्यही समाजका व्यक्ति हुने भएकाले जनता र नागरिकको सम्बन्धलाई भावनात्मक रूपमा जोड्न र पीडितलाई न्याय दिलाउने र अपराधीलाई कानूनी कठघरीमा उभ्याउनु नै यो अभियानको मुख्य उद्देश्य रहेको प्रमुख ओलियाको भनाइ छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले शान्ति सुरक्षाका क्षेत्रमा भएका कामका बारेमा प्रकाश पार्दै पीडितले न्याय नपाउँदासम्म प्रहरीलाई पनि पीडा भईरहने भएकाले प्रहरीले शान्त समाजको परिकल्पना गर्दै आवाज पुर्याउन नसक्नेहरूका लागि सारथी भएर उभिएको बताए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले समाजमा घट्ने घटनाको जिम्मेवारी प्रहरी र जनप्रतिनिधीले मात्र लिनु पर्ने सोचलाई केही फराकिलो बनाएर त्यसको जिम्मेवारी जनता पनि हो भन्ने सोचका साथ जनता पनि चनाखो र जागरुक हुनु पर्ने सुझाव दिएका थिए ।
सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पूर्व प्रहरी लेखनाथ ईकाइका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना अभियानले गुनासो सुन्ने र समस्या सुल्झाउने उद्देश्य राख्नु पर्नेमा जोड दिएका थिए ।
विविध सांस्कृतिक कार्यक्रमसहित सुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरी ढुगानाले चेतनामूलक गीतमार्फत स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक समुद्र नेपालले गरेका थिए ।
तपाईको प्रतिक्रिया