कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र डीटीडीसीबीच सम्झौता

समाधान संवाददाता २०८१ फागुन २९ गते १५:०३

काठमाडौं ।

Advertisement

भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्ने भएकाे छ । कम्पनीले बुधबार नेपालको युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो ।

डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जीले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदमको रुपमा रहेको बताए ।


उनले भने ‘नेपाल हाम्रो लागि रणनीतिक रुपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाई कायम गर्न चाहन्छौं।’


साझेदारीमा डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। युनिभर्सल एक्सप्रेसले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएकाे छ ।

Advertisement


डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने कम्पनिकाे भनाइ छ । साझेदारीले व्यवसाय, ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ ।


नेपाल हुँदै विश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डिटिडिसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया