अस्थायी ल्यान्डफिलले स्थायी दुःख

सञ्जय रानाभाट २०८१ फागुन ३० गते १०:३४

सञ्जय रानाभाट, पोखरा ।
पोखरामा ९ दिनदेखि फोहोर उठ्न सकेको छैन । २५ महिनादेखि अस्थायी रुपमा पोखरा ३२ लामेआहालमा महानगरले फोहोर व्यवस्थापन गर्दै आए पनि ९ दिनदेखि स्थानीयले त्यहाँ फोहोर लैजान रोकेका छन् ।

Advertisement


बिहीबार पनि फोहोर बोकेर लामेआहाल पुगेका गाडी फोहोर बोकेरै फर्केका छन् । महानगरले जबर्जस्ती व्यवस्थापन गर्न खोज्दा स्थानीयले फोहोरका गाडी रोकिदिएका हुन् । अस्थायी रूपमा फोहोर व्यवस्थापन हुँदै आए पनि स्थानीयले माग पूरा नभएको भन्दै फोहोर बोक्ने गाडी रोकिदिएको स्थानीय बुद्धिमान गुरुङ बताउँछन् ।


उनी वडाले राम्रोसँग समन्वय नगर्दा वडामा दुर्गन्ध फैलिएको दाबी गर्छन् । जनस्वास्थ्यमा गम्भीर असर परेको छ । फोहोरको अस्थायी व्यवस्थापन गर्न फागुन २१ गते अक्कलबहादुर कार्कीको संयोजकतत्वमा वडामा बैठक बसेको थियो । बैठकमा स्थानीय, राजनीतिक दलका प्रतिनिधि, संघ, संस्था, सामाजिक अभियन्ता तथा संघर्ष समितिका सदस्यहरू उपस्थित थिए ।


बैठकले २ निर्णय गर्‍योः पहिलो तत्काल गर्नुपर्ने र अर्को बजेटमा समावेश गर्नुपर्ने । तत्काल गर्नुपर्नेमा सेती नदीको तटबन्ध निर्माण गर्नुपर्ने, फोहोर व्यवस्थापनपछि त्यसलाई माटोले पुर्नुपर्ने, नदीमा बाँध निर्माण गर्नुपर्ने, कालिका मन्दिरको छानो व्यवस्थापन तथा विगतका सम्झौताहरु कार्यान्वयन गर्न महानगरलाई अनुरोध गर्न लेखिपठाउने निर्णय भयो ।


दीर्घकालीन निर्णयमा महानगरले आगामी वर्षको बजेटमा वडा नम्बर ३२ लाई २० करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने स्थानीयको माग छ । त्यो बजेटले त्यहाँका स्थानीय पूर्वाधार निर्माण गर्नुपर्नेमा उनीहरुको जोड छ । तर, यो बिचमा तत्काल गर्नुपर्ने कामसमेत हुन नसक्दा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका हुन् ।

Advertisement

बाच्छेबुडुवाको ल्याडफिल बन्द गरी लामेआहालमा फोहोर व्यवस्थापन गरिए पनि स्थायी ल्यान्डफिलको पत्तो छैन । बारम्बार फोहोर नउठ्दा सहर दुर्गन्धित बन्ने गरेको छ ।


‘यो वडामा नयाँ मान्छे आउनै नसक्ने भएको छ । फोहोरले सबैतिर दुर्गन्ध फैलाएको छ । विद्यालय, आश्रम त विस्थापन नै भइसके । यहाँका सबैलाई स्वास्थ्यमा गम्भीर समस्या देखिसक्यो तर, महानगरको नेतृत्व टुलुटुलु हेरेर बसेको छ,’ एक स्थानीयले भने । महानगरका पछिल्लो गतिविधिले स्थानीयहरु अब अन्तिम लडाईं लड्ने मनस्थितिमा पुगेको बताउँछन् ।


‘अब हाम्रो वडाअध्यक्षको कुरा नगरौं । उहाँलाई हामीले नै जिताएर पठाएका हौं । तर, आज कसको इसारामा काम गर्नुभएको छ । त्यो हामीलाई थाहा छैन,’ ती स्थानीयले भने, ‘वडाध्यक्षको भूमिका कमजोर हुँदा हाम्रो वडा कमजोर भयो । आज पोखराको फोहोरको दुर्गन्धले हाम्रो स्वास्थ्यमा गम्भीर असर परेको छ ।’


वडाध्यक्ष कार्की भने वडामा समस्या नभएको दाबी गर्छन् । ‘केही नबुझेकाले विरोध गरेका हुन्, त्यो भोलि शुक्रबारबाट फोहोर उठ्छ,’ वडाध्यक्ष कार्कीले भने । वडाले राम्रोसँग समन्वय गरी माग सम्बोधनको प्रयास भइरहेको उनले सुनाए ।


स्थायी ल्यान्डफिल साइट नहुँदा पोखरामा फोहोर व्यवस्थापनको समस्या बारम्बार उत्पन्न हुँदै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ बाच्छेबुडुवाको ल्यान्डफिल साइट बन्द गर्नुपरेको थियो । त्यसयता लामेआहालमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको भए पनि समाधानका लागि ठोस कदम चालिन सकेको छैन ।


सुरुमा स्थानीयसँग ६ महिनाको सम्झौता गरिएको थियो । त्यो सम्झौता सकिएर पुन १८ महिनासम्म फोहोर व्यवस्थापन गर्ने महानगरले सम्झौता गर्‍यो । तर, अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि २५ महिनासम्म महानगरले फोहोर थाल्ने स्थानको विकल्प खोजेको छैन । हाल जम्मा भएको फोहोरले लामेआहालको खोल्डो पुरिन लागिसकेको छ ।


त्यसपछि पनि महानगरले कहाँ फोहोर फाल्छ, अन्योल छ । मेयर धनराज आचार्यले भने पोखराको फोहोर व्यवस्थापन प्रणाली टिकट काटेर हेर्न जान मिल्ने बनाउने दाबी गर्दै आएका छन् । यसअघि पनि स्थानीय आन्दोलित हुँदा २०८० साउन २४ मा स्थानीय बासिन्दा र महानगरबीच १४ बुँदे सम्झौता भएको थियो ।


सम्झौतामा विसर्जनस्थलमा फोहोर ल्याइएपछि तत्कालै माटाले पुर्ने, फोहोरको अनुपातमा दैनिक माटोको व्यवस्थापन हुनुपर्ने थियो । त्यो अहिले पनि कार्यान्वयन नभएको स्थानीयहरु बताउँछन् । कवाडीजन्य सामग्री संकलनमा निषेध गरिनुपर्ने, पूर्वाधार निर्माण गरिनुपर्ने लगायतका बुँदा त्यो सम्झौतामा थिए ।


दुर्गन्धले स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि स्थानीय ३ सयभन्दा बढी परिवार चरणवद्ध आन्दोलनमा उत्रने तयारीमा छन् । देशकै ठूलो महानगर पोखराले ३३ नम्बर वडामा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णय गरे पनि त्यो योजना अघि बढ्न सकेको छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया