थासाङ गाउँपालिकाको आयोजनामा तारा खेल

समाधान संवाददाता २०८१ फागुन ३० गते १०:४६

जोमसोम ।
फागुपूर्णिमा तथा तोरन्ल पर्व २०८१ को अवसरमा मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसामा बिहीबारदेखि परम्परागत धनुष बाण (तारा) खेल प्रतियोगिता आयोजना गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाले परम्परागत धर्म, संस्कृति जोगाउन परम्परागत ‘धनुष बाण’ प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement


हिमाली क्षेत्रको ऐतिहासिक संस्कृतिसँग ‘धनुष बाण’ खेललाई संरक्षण, संवद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले आयोजना गरेको तोरन्ल विशेष कार्यक्रममा यस प्रकारको प्रतियोगिता आयोजना गरेको हो । थकाली समुदायको उद्गम स्थलका रुपमा थासाङ गाउँपालिका प्रसिद्ध छ ।


शताब्दीयौंदेखि त्यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वमा गाउँपालिकाले यसै वर्षदेखि परम्परागत सांस्कृतिक खेललाई प्रतियोगिताका रूपमा सञ्चालन गर्न सुरु गरेको हो । गाउँपालिकाले धार्मिक संस्कृति, सभ्यता र परम्परालाई विशेष महत्व दिँदै यस वर्षदेखि प्रथम धनुषबाण तथा आर्चरी प्रतियोगिता आयोजना गरेको हो ।


पालिकाले यसपालिदेखि परम्परागत धनुषबाण खेललाई पालिका खेलकुदमा समेत सूचीकृत गरिसकेको छ । थासाङ गाउँपालिका ४ घाँसामा आयोजित प्रथम धनुषबाण तथा आर्चरी प्रतियोगिता संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे ।


सांसद थकालीले थकाली समुदायको थातथलो मुस्ताङको थासाङमा स्थानीय तहबाट भएको यस प्रकारको प्रतियोगिताले धार्मिक संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण योगदान पुग्ने विचार राखे । संघीय सांसद थकालीले थाक सातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषबाण खेल र थकाली मौलिक भेषभूषा यहाँका थकालीको शताब्दीयौंदेखिको सम्पत्ति रहेको औंल्याए ।

Advertisement


‘थकालीको महान पर्व तोरन्ल हो, यस पर्वको बेला फागुपूर्णिमा पनि जोडिन्छ,’ संघीय सांसद थकालीले भने, ‘अन्य समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ, त्यसर्थ थकाली समुदायको पर्वमा पनि तोरन्लको नामले सार्वजनिक बिदाको घोषणा गरिनुपर्छ ।’ सांसद थकालीले मुस्ताङमा रहेका तथा अन्य स्थानका अल्पसंख्यक थकाली समुदायको आवाज सुनुवाइ गर्नसमेत माग गरे ।

थकालीहरुको पर्व तोरन्लको अवसरमा थासाङ गाउँपालिकाले आयोजना गरेको तारा खेल स्पर्धामा ११ गाउँका युवा सहभागी छन्

फागुपूर्णिमा तथा तोरन्ल विशेष सन्दर्भमा आयोजित अन्तरगाउँ धनुषबाण प्रतियोगितामा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, जिल्ला न्यायाधिवक्ता देवेद्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी संघका केन्द्रीय सचिव योगेंद्र शेरचन, थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, थासाङका वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ २ का वडाध्यक्ष गौतम शेरचनले शुभकामना दिए ।

प्रतियोगितामा १३ गाउँमध्ये ११ गाउँका युवाले सहभागिता जनाएको खेल संयोजक तथा थासाङ ४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा सादा धनुषबाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी २ विधा समेटिएको खेल संयोजक शेरचनले सुनाए ।


प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन थासाङ गाउँपालिकाका ५ वटै वडाका युवा मुस्ताङको घाँसामा पुगेका छन् । दुवै विधामा १३ डोर्सका आधारमा खेल प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत परम्परागत सादा धनुषबाण प्रतियोगिताका प्रथम स्थान हासिल गर्नेले नगद १ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः नगद ६६ हजार, ३३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


आधुनिक आर्चरी प्रतियोगिताका विजेतालाई पनि आकर्षक नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम रहेको खेल संयोजक शेरचनले जानकारी दिए । तोरन्ल पर्व २०८१ विशेष कार्यक्रमको अवसरमा गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा भौतिक तथा सामाजिक योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरेको छ ।

समारोहमा थासाङ गाउँपालिका—४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि जग्गादान गर्ने थासाङ ४ का जीवन शेरचन र विपना शेरचनलाई प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली र थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।


शेरचन दम्पतीले स्वास्थ्य सेवाको पहुँच सहज तथा व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र सेवा भवन निर्माणका लागि ३ रोपनी जग्गा गाउँपालिकालाई दान गरेका छन् । तोरन्ल विशेष समारोहमा थासाङ गाउँपालिका— स्थित झिप्रा देउराली स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीयलाई पनि सम्मान गरिएको छ ।


बेनी जोमसोम सडक खण्डमा यात्रा गर्ने पर्यटक तथा तीर्थालुलाई अप्ठ्यारो पर्दा सहयोग तथा सहजीकरण गर्दै ईन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । शेरचन थासाङ २ नाउरिकोटका बासिन्दा हुन् । बेनी—जोमसोम सडकका सुपरभाइजर भएर ६ वर्षदेखि क्रियाशील शेरचन यसअघि पनि म्याग्दी र मुस्ताङमा पटक पटक सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया