फागुमा रंगिए विदेशी पर्यटक

समाधान संवाददाता २०८१ फागुन ३० गते ११:१४

पोखरा ।
पोखरामा फागुपूर्णिमा (होली)को अवसर पारी रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले बिहीबार बिहान लेकसाइडमा होली र्‍याली आयोजना गर्‍यो । अम्बोटदेखि सुरु गरिएको र्‍यालीमा नेपालीसँगै विदेशी पर्यटकको उल्लेख्य सहभागिता थियो ।

Advertisement


रङसँग रमाउँदै हिडेका उनीहरु निकै खुसी देखिन्थे । रेबानले आयोजना गरेको कार्यक्रम सकिनुअघि नै लेकसाइड रङमय बनिसकेको थियो । पर्यटकमात्रै नभएर पोखरा लेकसाइड पुगेका सबैको अनुहार रंगीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क र चौर होली मनाउनेहरूले भरिभराउ थियो ।


नेपालमा मनाइने रंगहरुको पर्वमा सामेल हुन पाउँदा खुसी लागेको पर्यटकहरुको प्रतिक्रिया थियो । सेतो कपडामा रातो, पहेलो, नीलो रंगले सजिएकी जर्मनीकी सोफीले फरक खालको पर्वमा सहभागी हुन पाएको बताइन् । नेपालको यो पर्व र खुसीका बारेमा जर्मनी पुगेपछि साथीहरुलाई सुनाउने उनले बताइन् ।


अमेरिका बस्ने रेस्मा थापा पनि पोखराको होली विदेश हुँदा धेरै सम्झने बताउँछिन् । काठमाडौं घर भएकी रेस्मा अहिले बिदामा नेपाल छिन् । उनी होली मनाउने गरी पोखरा आएकी हुन् । ‘अहिले भ्याकेसनमा नेपाल छु । पोखरामा योभन्दा अघि पनि होली मनाउन आएको थिए । त्यो बेला लेकसाइडमा विदेशीसँगै होली मनाएको देख्दा एकदमै मन परेको थियो र अहिले पनि आएको हुँ,’ उनले भनिन्, ‘हामी जस्तो विदेश बस्नेहरुको लागि पोखराको होली निकै मिस हुन्छ । यहाँ विदेशीसँग यसरी मिलेर मनाइन्छ तर, विदेशमा पर्वहरु यसरी मनाउने वातावरण नै हुँदैन ।’


होलीमा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी बताउँछन् । होलीको अवसरमा विदेशीसँगै नेपालीले खेल्ने रंगले पर्यटकीय याम सुरुआतको संकेत गर्ने उनले सुनाए । उनले भने, ‘अब टुरिज्म सिजन सुरु हुने बेला पनि भयो । होलीको रंगले सिजन सुरु भएको संकेत गर्छ ।’

Advertisement


आगामी दिनमा यसलाई अझै परिस्कृत रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘पोखरा फागुका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । यसले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,’ उनले भने, ‘अर्को वर्ष योभन्दा व्यवस्थित तरिकाले लैजान सकिन्छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।’ अहिलेसम्म सरकारले अप्रत्यक्ष रुपमा सहयोग पु¥याइरहेको भए पनि अबका दिनमा सरकार नै आयोजक भएर काम गर्दा राम्रो हुने उनले सुझाए ।


रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले हरेक वर्षको होलीमा पर्यटकको चहलपहल राम्रो देखिए जस्तै यो पटक पनि आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरा आएको बताए । होलीले पोखराको पर्यटनमा टेवा पुग्नेमात्र नभएर नेपालको संस्कृति विदेशीले थाहा पाउनले उनको प्रतिक्रिया थियो । ‘पोखरामा हरेक वर्ष होलीमा राम्रै पर्यटकको भीड हुन्छ । यो वर्ष पनि त्यसले निरन्तरता पाएको छ,’ उनले भने, ‘होलीमा नेपालीमात्र नभएर विदेशी पनि रमाइरहेका छन् । यसले गर्दा हामी नेपालीको संस्कृति विदेशीले जान्ने बुझ्ने अवसर पाउँछन् ।


पोखरा महानगरले पोखरा भ्रमण घोषणा गरिसकेको अवस्थामा होली जस्तै नेपालीका हरेक चाडपर्वलाई विशेष बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हाम्रो चाडबाड हामीले त मनाउँछौं नै, हरेक पर्वलाई केही फरक बनाउन सकियो र पोखरा आउने पर्यटक सामु प्रस्तुत सक्ने हो भने पोखरामा पर्यटकको संख्या वृद्धि गर्न सहयोग गर्छ ।’ यसका लागि पर्यटन व्यावसायी, सरकार र समुदाय मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया