बालिङमा आज ‘ब्याक टु नाइन्टिज’

समाधान संवाददाता २०८१ फागुन ३० गते ११:३९

पोखरा ।
सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको दोस्रो शृंखला शुक्रबार स्याङ्जाको वालिङमा हुँदै छ । पोखरामा भएको कार्यक्रमको सफलतापछि ‘ब्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत वालिङ बजारमा कार्यक्रम हुन लागेको हो ।

Advertisement


चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लब वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘ब्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ ब्यान्ड गुञ्जिने छन् । नब्बेको दशकमा ब्यान्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोस्रो श्रृंखला हुन लागेको ‘ब्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याति कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोन्ड ब्यान्ड गुञ्जिने उनले बताए । स्थानीय व्यवसायी तथा समाजसेवीहरु विजय मल्ल, विजयविक्रम खाँड, सुनील खनाल, टेकबहादुर कार्की, वीरेन्द्र केसी र सोनी खानको सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्ने छन् ।


वालिङमा हुने कार्यक्रमसँगै देशव्यापी अभियान सुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । ९० को दशकमा उदाएर पोखरालाई ब्यान्डहरुको राजधानी बनाएका यी ब्यान्डहरुले सोहि विरासत फर्काउन ‘ब्याक टु नाइन्टिज’को कन्सेप्ट जन्मिएको हो ।


वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेशीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर, काठमाडौं लगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।

Advertisement

कार्यक्रममार्फत संघले सुषुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्रान्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, संगीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने लगायतका उद्देश्य राखिएका छन् । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धक छ ।

तपाईको प्रतिक्रिया