सामाजिक सुरक्षा कोषमा समेट्न माग

समाधान संवाददाता २०८१ फागुन ३० गते १२:२५

पोखरा ।
फागु पूर्णिमाको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अन्तर्गतका विभिन्न कमिटीले बिहीबार भेला प्रशिक्षण तथा अधिवेशन गरेका छन् । २०३६ असार ९ गते सुनसरीको पानीपिया जंगलमा स्थापना भएको संगठनले पञ्चायत कालमा खुला रुपमा कार्यक्रम गर्न नपाउँदा फागुमा होली खेल्दै संगठनात्मक गतिविधिलाई निरन्तरता दिएको संगठनका पूर्व अध्यक्ष ईश्वरप्रसाद आचार्यले जानकारी दिए ।

Advertisement


संगठनको लामोदूरी बस तथा मिनीबस इकाइ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ४० वर्ष अगाडि संगठनको नाम पनि लिन नपाउँदा फागुलाई मजदुरले चाड पर्वको रुपमा मनाउने प्रचलनको सुरुवात गरेको जानकारी दिए । उनले संगठनमा आबद्ध मजदुरलाई मित्रवत सम्बन्ध कायम गरी सचेत र संगठित भएर माग पूरा गर्न संघर्ष गर्न सुझाव दिए ।


कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले यातायात क्षेत्रका सबै मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेट्न दबाब मुलक कार्यक्रम गर्न आग्रह गरे । स्वरोजगारबाट सुरुवात गरी सबै यातायात व्यवसायी समितिसँग समन्वय गरी कोषमा सूचीकृत हुन उनले अनुरोध गरे ।


‘यातायात मजदुरको प्रस्थानविन्दुदेखि गन्तव्यसम्म पुग्दा दिनमा १ सय यात्रुसँग सम्पर्क हुने भएकाले सबैलाई समान व्यवहार गर्नु पर्छ,’ उनले भने, ‘सबै मजदुरले अधिकारसँगै कर्तव्य पूरा गरी दायित्वबोध गर्नु पर्छ ।’ उनले मादक पदार्थ तथा गाँजा सेवन गरेर सवारी नचलाउन अनुरोध गरे ।


नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर (क्युपेक)का केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेतीले यातायात तथा निर्माण क्षेत्रका मजदुरहरु सामाजिक सुरक्षा कोषमा जोडिन नसकेको सुनाए । कार्यक्रममा संगठन लामोदुरी बस तथा मिनीबस इकाइ अध्यक्ष खेमबहादुर भुजेल, पूर्व अध्यक्ष श्यामकुमार बजगाई, पूर्व सचिव शिवचन्द्र काफ्ले लगायतले यातायात क्षेत्रको समस्याको बारेमा बोलेका थिए ।

Advertisement


नेपाल यातायात मजदुर संगठन माइक्रो बस इकाई कमिटीको १० औं अधिवेशनले अध्यक्ष रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय इकाइ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा यमन सारुमगर, सचिव पदमबहादुर थापा, सहसचिव इन्द्र श्रेष्ठ र कोषाध्यक्षमा मनोज गुरुङ छन् ।


सदस्यमा दीपक घले, संगम लामा, किशोर दियाली र कृष्णबहादुर नेपाली चयन भएको संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष नारायण रिमालले जानकारी दिए ।


नेपाल यातायात मजदुर संगठनका केन्द्रीय कमिटीका उपमहासचिव विष्णुबहादुर पराजुलीले उद्घाटन गरेको कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटीका सदस्य बद्री पराजुली, संगठनका सचिव रिमाल, पूर्व सहसचिव मदनकुमार सुनार, भरत आलेमगर, प्रदेश कमिटीका पूर्व अध्यक्ष भानुभक्त सुवेदी लगायतले बोलेका थिए ।


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा महानगर कमिटीको बिहीबार भएको तेस्रो अधिवेशनले अध्यक्ष विनोद पौडेलका नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मण भुजेल, सचिव रामबहादुर राई (किरण), सहसचिव प्रकाश भुजेल र कोषाध्यक्ष राजकुमार दमै छन् ।


सदस्यमा झमनबहादुर गुरुङ, साजन सुनार, चन्द्रबहादुर मगर, हिराबहादुर सारुमगर, यामबहादुर गुरुङ र ईन्द्र गुरुङ छन् । कमिटीका सल्लाहकारमा दुर्गा भुजेल र हरि कार्की छन् । संगठनका पूर्व केन्द्रीय सदस्य ईन्द्र गुरुङले उद्घाटन गरेको कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश सदस्य जीवन लामा, संगठनका गण्डकी प्रदेश उपाध्यक्ष द्वय बाबुराम रानामगर र बेनीराज थिङ, प्रदेश सदस्यहरु टीकाराम अधिकारी र किशोर घिमिरे, पूर्व अध्यक्ष वशन्त बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया