सिरेटोमा रमाउँछन् पाहुना

समाधान संवाददाता २०८१ फागुन ३० गते १२:३४

गण्डकी ।
बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्की जस्तै थियो । टोड्केबाट हिमशृंखला दृश्यावलोकन गर्ने रहर अधूरै रहे पनि यहाँको लेकाली हावापानी र न्यानो आतिथ्यताले सबै जना रमाएका थिए । गत शुक्रबार समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटर उचाइको टोड्के पुग्दा वरपरका बस्ती र डाँडापाखा बादलभित्र लुकामारी खेलिरहेका थिए ।

Advertisement


नौरंगी गुराँस फुल्ने टोड्केका स्थानीयले गुराँसका थुंगा हातमा टक्रउयाए र टीका लगाएर स्वागत गरे । धवलागिरि क्षेत्रको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको प्रकाशन ‘धवलागिरि जागरण’ दैनिकको १८ औँ वार्षिकोत्सव मनाउन सञ्चार उद्यमी, पत्रकार लगायतको टोली टोड्के पुगेको थियो ।


पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको टोड्केको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्‍याउने उद्देश्यले पत्रिकाको वार्षिकोत्सव यहाँ मनाइएको थियो । म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको संगम स्थलका रूपमा रहेको टोड्के कुनै बेला खर्कका रूपमा चिनिन्थ्यो । भौगोलिक कठिनाइका कारण जोकोही आउजाउ गर्न सक्दैनथे ।


रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँका किसान गोठ राख्न र घाँसदाउरा गर्न जान्थे । विकासका पूर्वाधार धेरैपछि मात्र टोड्केमा पुग्यो । प्राकृतिक र धार्मिक महत्व बोकेको टोड्केलाई गाउँका अगुवाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना ल्याए । ५ वर्षअघि ‘टोड्के हिल रिसोर्ट’ खुल्यो ।


विस्तारै टोड्केमा पर्यटकीय गतिविधि सुरु हुन थाले । आन्तरिक पर्यटकको रोजाइमा टोड्के पर्न थाल्यो । ३३ जना व्यववसायी मिलेर ३ करोडको लागतमा रिसार्ट सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी भीम शेरचनले बताए । रिसोर्टमा पुग्ने पाहुना यहाँको प्राकृतिक सुन्दरतामा जति रमाउँछन्, उति नै यहाँको आतिथ्यले लोभिन्छन् ।

Advertisement


यहाँ आउने पाहुनालाई सिस्नो, सिन्की, फापरको साग, मकै, भटमास, मुला लगायत स्थानीय खानाका परिकार ख्वाउने गरेको रिसोर्ट सञ्चालक शेरचनले सुनाए । ‘यहाँको मुख्य उत्पादन भनेको आलु र मुला हो, रिसोर्टमा आउने पाहुनलाई यहीँको उत्पादन ख्वाउने गर्छौँ, मासुजन्य परिकारका लागि कुुखुरा पनि रिसोर्टमै पालेका छौँ,’ उनी भन्छन् ।


रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ । टोड्केको जंगलमा भएको सुरुङ (टोड्को)मा पहिले पहिले गाईवस्तु अड्किने र तिनलाई बाघभालुले खाइदिने हुनाले यस ठाउँको नाम टोड्के रहन गएको किंवदन्ती छ । सडक, सञ्चार, विद्युत्् आदिको सुविधाले पछिल्लो समय टोड्केको जनजीवन फेरिएको छ । टोड्के विकास कोषमार्फत पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।


शान्त र मनोरम वातावरणमा रमाउन चाहने पर्यटकका लागि टोड्के उपयुक्त गन्तव्य रहेको रघुगंगा गाउँपालिका ५ झिँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । टोड्केबाट एकसाथ गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।


स्वर्गद्वारी महाप्रभु लगायत शन्त महात्माले तपस्या गरेको टोड्केको धार्मिक महत्व उत्तिकै रहेको शिवालय मन्दिरका पूजारी जनक सुवेदी बताउँछन् । टोड्केमा शिवालय मन्दिर र आश्रम छ, जसलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाको रूपमा लिइन्छ ।


मगर जातिको बाहुल्य रहेको टोड्केमा सोरठी, सालैजो, यानीमाया, भजनकीर्तन, पञ्जेबाजा जस्ता मौलिक संस्कृति संरक्षित छन् । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले उल्लेख गरे । वनभोजस्थल लगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणाधीन छन् ।


म्याग्दी सदरमुकाम बेनीदेखि टोड्के पुग्न ५ सडक मार्ग छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के १९ किमि, बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के १५ किमि र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के १४ किमिमा यहाँ पुगिन्छ । बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै २९ किमि दुरीमा टोड्के पुग्न सकिन्छ । बेनी–गलेश्वर–पात्लेखत–वाखेत हुँदै १९ किमि दुरीको अर्को सडकले टोड्केलाई जोड्छ ।


पदयात्राका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार हुँदै टोड्के पुगिने पुरानो घोडेटो बाटो पनि छ । झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा घरबास (होमस्टे) सुविधा छ ।


टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धवलागिरि हिमालको आधारशिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धवलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अवधारणा अगाडि सारिएको छ ।

म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्णरूपमा विस्थापित भएको अवस्थामा टोड्के–धवलागिरि पानोरमा सांस्कृतिक र धवलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण वैकल्पिक मार्गमा रूपमा स्थापित गर्न सकिने सम्भावना छ । रासस

तपाईको प्रतिक्रिया