
सञ्जय रानाभाट
पोखरा ।
पोखरा महानगरपालिकाले १० दिनपछि फोहोर उठाएको छ । असरल्ल बाटोमा फालिएको फोहोर शुक्रबार महानगरले उठाएको हो । यद्यपि सबै क्षेत्रको फोहोर शुक्रबार उठ्न सकेन । अझै पनि नयाँबजार, न्यूरोडका चोकमा फोहोर देख्न सकिन्छ ।
शुक्रबार महानगरले फोहोरले डम्प भएका गाडी र मुख्य चोकको फोहोर उठाएको ल्यान्डफिल साइट इन्चार्ज हर्क गायकले जानकारी दिए । ‘शुक्रबार ५० टिपर फोहोर लामेआहाल पु¥याइयो । अरु फोहोर अब भोलि फाल्छौैं,’ उनले भने । महानगरले शुक्रबार झुक्याएर फोहोर फालेको स्थानीयको भनाइ छ ।
स्थानीयलाई वार्ताका लागि महानगर बोलाएर फोहोर फालिएको उनीहरुको आरोप छ । महानगरमा बसेको वार्तासमेत सफल भएन । स्थानीय अवरोध कायम राख्ने भन्दै बैठकबाट उठे । आफूहरुले राखेका सामान्य मागसमेत पूरा गर्न महानगर तयार नभएको स्थानीयको आरोप छ ।
सरसफाइ शाखा प्रमुख बलराम पाठकले शुक्रबारको वार्ता पनि सफल नभएको बताए । ‘स्थानीयले केही माग राख्नुभएको छ । धेरै माग उहाँहरुको छ । जुन मागमा सहमत जुटेन, उहाँहरु सहमत हुनुभएन,’ प्रमुख पाठकले भने ।
स्थानीयले हाल फोहार व्यवस्थापन भएको ठाउँमा माटोले पर्नुपर्ने माग गरेका छन् । जति फोहोर लामेआहाल पुग्छ, सोही अनुसार माटोले पुर्नुपर्ने स्थानीयको माग छ । जुन कुरा सम्भव नै नभएको प्रमुख पाठकले बताए । ‘जति फोहोर जान्छ । त्यत्ति नै माटोले पुर्न सम्भव छैन । अहिले हामीले आवश्यकता अनुसार नै पुरिरहेका छौं,’ उनले भने । यद्यपि स्थानीयले दुर्गन्ध फैलिएको गुनासो गरेका छन् ।
स्थानीयले महानगरले तत्काल गर्नुपर्ने भन्दै ४ माग राखेका छन् । त्यसमा माटोले पुर्ने । सेती नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, कालिका मन्दिरको छानो व्यवस्थापन तथा विगतका सम्झौताहरु कार्यान्वयन गर्ने लगायतका उनीहरुका माग छन् । आगामी वर्षको बजेटमा वडा नम्बर ३२ लाई २० करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने स्थानीयको माग छ ।
यी माग पूरा गर्न महानगर नेतृत्व तयार नभएको स्थानीयको आरोप छ । उनीहरुले आगमी दिनमा पनि अवरोध कायम राख्ने जनाएका छन् । पछिल्लो पटक फागुन २१ गतेबाट पोखराको फोहोर उठेको छैन । शुक्रबार ५० टिप्पर पु¥याइए पनि शनिबार महानगरलाई फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।
२५ महिनादेखि महानगरले अस्थायी रुपमा पोखरा ३२ लामेआहालमा फोहोर व्यवस्थापन आएको छ । स्थायी ल्यान्डफिल साइट नहुँदा पोखरामा फोहोर व्यवस्थापनको समस्या बारम्बार उत्पन्न हुँदै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ बाच्छेबुडुवाको ल्यान्डफिल साइट बन्द गर्नुपरेको थियो । त्यसयता लामेआहालमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको भए पनि समाधानका लागि ठोस कदम चालिन सकेको छैन ।
सुरुमा स्थानीयसँग ६ महिनाको सम्झौता गरिएको थियो । त्यो सम्झौता सकिएर पुन १८ महिनासम्म फोहोर व्यवस्थापन गर्ने महानगरले सम्झौता ग¥यो । तर, अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि २५ महिनासम्म महानगरले फोहोर थाल्ने स्थानको विकल्प खोजेको छैन । हाल जम्मा भएको फोहोरले लामेआहालको खाल्डो पुरिन लागिसकेको छ ।
त्यसपछि पनि महानगरले कहाँ फोहोर फाल्छ, अन्योल छ । मेयर धनराज आचार्यले भने पोखराको फोहोर व्यवस्थापन प्रणाली टिकट काटेर हेर्न जान मिल्ने बनाउने दाबी गर्दै आएका छन् । यसअघि पनि स्थानीय आन्दोलित हुँदा २०८० साउन २४ मा स्थानीय बासिन्दा र महानगरबीच १४ बुँदे सम्झौता भएको थियो ।
सम्झौतामा विसर्जनस्थलमा फोहोर ल्याइएपछि तत्कालै माटाले पुर्ने, फोहोरको अनुपातमा दैनिक माटोको व्यवस्थापन हुनुपर्ने थियो । त्यो अहिले पनि कार्यान्वयन नभएको स्थानीयहरु बताउँछन् । कवाडीजन्य सामग्री संकलनमा निषेध गरिनुपर्ने, पूर्वाधार निर्माण गरिनुपर्ने लगायतका बुँदा त्यो सम्झौतामा थिए । दुर्गन्धले स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि स्थानीय ३ सयभन्दा बढी परिवार चरणवद्ध आन्दोलनमा उत्रने तयारीमा छन् । देशकै ठूलो महानगर पोखराले ३३ नम्बर वडामा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णय गरे पनि त्यो योजना अघि बढ्न सकेको छैन ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया