अन्नपूर्णको सल्यानमा मौरीपालन तालिम

पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सकिएको छ । पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा ६५ दिन (३९० घण्टा) को तालिम सुरु भएको थियो ।
शिक्षालयका प्रमुख इन्जिनियर बिकल अधिकारीले तालिममा २० कृषकको सहभागिता रहेको र समापनको अवसरमा उनीहरुका लागि एक/एक मौरीका घार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको जनाए । अन्नपूर्ण गाउँपलिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिएको उल्लेख गरे ।
उनले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा अन्नपूर्ण गाउँपालिका भित्रका एसइई उत्तिर्ण विद्यार्थीलाई ३ वर्षे पशुविज्ञान र ३ वर्षे बाली विज्ञान पूर्ण रुपमा निशुल्क रहेको बताउँदै उक्त खर्च गाउँपालिकाले ब्यहोर्ने प्रतिवद्धता गरे । गाउँपालिका बाहिरका विद्यार्थीका लागि ३ वर्षको ५० हजार शुल्क लाग्छ ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा ७ का वडाध्यक्ष भरतमान गुरुङले यस क्षेत्रलाई मौरीपालन पकट क्षेत्र बनाउनुपर्नेमा जोड दिए । उनले तालिमपश्चात त्यसलाई व्यवसायका रुपमा अंगाल्न आग्रह गरे ।
प्रशिक्षक जगन्नाथ पौडेलले मौरी पालनका लागि आवश्यक पर्ने पक्षहरुको जानकारी दिदै मौरीमा लाग्ने रोग, निराकरणका उपाय, मौरीका स्वाभाव र प्रकार, मौरीको घार लगायतका बिषयमा सिकाइएको जनाए ।
तपाईको प्रतिक्रिया