वालिङमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा

पोखरा । सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा .भएको छ । पोखराको सफलतापछि देशव्यापी अभियान थालेको ‘ब्याक टु नाइन्टिज’को सेकेन्ड इडिसन वालिङमा भएको हो ।
चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा १० हजार दर्शक सहभागी बने । नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याति कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोन्ड व्यान्ड वालिङमा गुञ्जिदा दर्शक मन्त्रमुग्ध भए ।
साँझ साढे ५ बजेदेखि ‘व्याक टु नाइन्टिज’का कलाकार स्टेज चढ्न सुरु गरे । कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले ब्यान्डहरुको नाम लिनेबित्तिकै हुटिङ आउँथ्यो । सुरुमा स्टेज पुगेका भेगावोन्ड ब्यान्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाए ।
पहिलो गीत ‘जीवन हो घामछायाँ’लाई दर्शकले उनीसँगै गाएर ताल मिलाए । दोस्रो पालोमा आएका देउराली ब्यान्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’मा स्वर दिँदा दर्शक वाइल्ड भइसकेका थिए । ब्रोसिस ब्यान्डका प्रकाश रानाका ‘बस सुन्दरी’, ‘चाइना कम्पनी’ लगायतका गीतपछि लेकाली ब्यान्डका हर्कराज गुरुङ (भाइ) र ननीन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’ लगायतका चर्चित गीत सुनाए ।
मध्यान्ह ब्यान्डका कर्णदासले ‘मनमनै मनपराइ सकेछु’, ‘जिन्दगीको के भरोसा’ लगायतका चर्चित गीत गाउँदा दर्शक नोस्टाल्जिक भए । अन्तिम प्रस्तुति दिएका डि–मर्चा ब्यान्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’बाट सुरु गरी ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’ लगायतका लोकप्रिय गीत सुनाए ।
कार्यक्रममा दर्शकले आफूलाई ९० को दशकमा फर्किएर हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समय महसुस गरेको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए । ‘विगतको समय पुनर्ताजगी हुँदा उहाँहरु मज्जाले झुम्नुभयो अनि रम्नुभयो,’ श्रेष्ठले भने ।
‘ब्याक टु नाइन्टिज’को तेस्रो संस्करण गोरखामा नयाँ वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेशीसहरमा नयाँ वर्ष २०८२ को स्वागतार्थ वैशाख १ गते हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, इलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौं लगायतका ठाउँमा पनि गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया