
जोमसोम । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाका निकैनै चर्चामा छ ।कोरलानाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमीबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमीमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ ।
त्यसो त चीनसंग सीमाना जोडिएको कोरलानाका क्षेत्रको पठार भूमी र त्यहाँबाट देखिन मनोरम दृष्यहरुले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम सुरु भएसंगै अहिले दैनिक एकसय भन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरलानाकासम्म पुगेर फर्किने गरेका छन् ।
भारतीय नाकाबन्दीपछि एकाएक निकैनै चर्चामा आएको कोरलानाका पुगेर फर्किनेको ताँतीनै लाग्ने गरेको छ । जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निकैनै उत्साहित भईरहेका छन् । भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरलानाकाले चर्चा जति बेला पायो,त्यसको कारण थियो उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना । तत्कालिन सरकारले उत्तरी नाकाहरुमा पनि व्यापारिक मार्ग खोल्नु पर्ने योजना बनाएपछि आ.व. २०७३/०७४ सालदेखि (बेनी—जोमसोम—कोरला) सडक स्तरोन्नति सुरुवात गरिएको थियो । २०२ किमी बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत करिव १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भईसकेकाले नेपाली पर्यटकलाई कोरलानाकासम्म पुग्न निकैनै सहज भईसकेको छ। जसका कारण नेपाली पर्यटकहरु बस,जीप र मोटरसाईकल यात्रा गर्दै कोरलानाकासम्म पुग्न गरेका हुन् ।
बेनी—जोमसोम सडक ७४ किमी र जोमसोम—कोरला ११० किमी सडक एकदिनमै कोरलानाकासम्म पुग्न सक्छन् । सडक सहज भईसकेकाले नेपाली युवायुवतीहरुको कोरलानाकामा लर्कोनै लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिनुभयो । कोरलानाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठुलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाई छ ।
शुक्रबार कोरलानाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरलानाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औल्याउनुभयो ।‘सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौं,यतिठुलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाईएन ,’ क्षेत्रीले भन्नुभयो,‘ चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतीर खै कहिले बन्ने ?।’
स्याङजाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरलानाका पर्यटन र नेपाल—चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह संम्भावना रहेको। कोरलानाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसता देखाउन आवश्यकता रहेको औल्याउनुभयो ।
राष्ट्रिय गौरवको कारला सडक स्तरोन्नतिसंगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटकहरुको आगमनदर बर्सेनि वृद्धि भईरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कोरला क्रेजका कारण पर्यटक बढेसंगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटलहरु थपिदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गनुभयो ।
त्यसो त मुस्ताङमा बर्सेनि ५ लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन् । जसमध्ये एक तिहाईको संख्यामा स्वदेशी पर्यटक कोरलानाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । (नेपाल—चीन) कोरलानाका गतवर्षको कार्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकहरुका लागि खुल्ला गरेको थियो ।
कोरला स्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरलानाका खुल्ला गरेको हो । त्यसो त चीन पक्षले दीर्घकालिन रुपमा कोरलानाकालाई व्यापारिक ट्रान्जिट प्वाईट बनाउने उद्देश्यले चीनले आफ्नो भूमीमा दर्जनौ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ । नाका खुलेपनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको बिषय बनेको छ ।
कोरलानाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा निकै समस्या हुने गरेको छ । यस्तै उपल्लो मुस्ताङका नागरिकहरुलाई कोरलानाकामा व्यवसायिक सुविधा जनक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ व्यापार गरी बसेका स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आईरहेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका अवलोकनका लागि बर्सेनी स्वदेशी पर्यटकको लर्को लागेपनि विदेशी पर्यटकहरु उपल्लो मुस्ताङ जान सक्दैन । सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गत रहेको उपल्लो मुस्ताङ जान ५ सय डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमती पाउँछन् । यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको सख्या निकैनै न्यून रहेको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्यांक अनुसार बर्सेनि एकलाख भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिव ३ प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया