सम्पादकीय—फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज

पोखरा, प्राकृतिक सुन्दरताको धनी र पर्यटकीय गन्तव्यको रुपमा परिचित यो सहर भएर पनि यहाँ फोहोरको समस्या उत्तिकै छ । फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रुपमा समाधान हुन सकेको छैन । कहिले बाटोभरि फोहोर थुप्रिएर सहरै दुर्गन्धित हुन्छ त कहिले घरघरमै थुपारेको पनि भेटिन्छ । फोहोर संकलन गर्न महानगरको गाडी नियमित आउँदैन त कहिले फोहोर व्यवस्थापन गर्ने ठाउँमा स्थानीयको अवरोध हुन्छ । भर्खरैमात्रै पनि पोखरा ३२ मा स्थानीयको अवरोधकै कारण हप्तादिनभन्दा बढी समय फोहोर उठेन । सहर प्रदूषित भइरह्यो । २५ महिनादेखि अस्थायी रूपमा लामेआहालमा फोहोर व्यवस्थापन गरिँदै आए पनि दीर्घकालनीन समाधानको खोजी भएको छैन । अस्थायी रुपमा लामेआहालमा फोहोर थुपारिए पनि त्यहाँसमेत बारम्बार समस्या उत्पन्न भइरहेको छ ।
लामेआहालका स्थानीयले पटकपटक महानगरपालिकासँग सम्झौताहरु गरिसकेका छन् । तर ती सम्झौताका बुँदाहरू पालना नभएको भन्ने उनीहरुको गुनासो छ । त्यसैले आन्दोलित हुन्छन् । लामेआहालमा सेती किनारमा फोहोर थुपारिँदा जनस्वास्थ्यमा गम्भीर असर परेको, दुर्गन्धले बस्नै नसक्ने अवस्था सिर्जना भएको र पूर्वाधार निर्माणको माग पूरा नभएको स्थानीयको गुनासो छ ।
फोहोरका विभिन्न प्रयोग गर्ने र नयाँनयाँ सामान बनाउने भन्ने योजना अन्तर्गत प्रदर्शनी केन्द्रमा प्रदर्शनी भवन बनाउने काम सम्भवत आजै सोमबारबाट सुरु हुने भनिँदैछ । त्यसले मूर्त रुप लियो भने पनि फोहोरको धेरै हदसम्मको समाधान निस्कन सक्छ । पोखराले अब स्थायी रूपमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्नुपर्छ । ३३ नम्बर वडामा फोहोर प्रशोधन केन्द्र बनाउने योजना महानगरले बनाए पनि त्यो अघि बढेको जस्तो देखिन्न ।
तर फोहोर एकै ठाउँमा थुपार्ने वा प्रशोधन गर्नेभन्दा पनि घरघरमै अर्थात फोहोरको स्रोतमै धेरैभन्दा धेरै व्यवस्थापन गर्ने जुक्ति पनि लगाउनुपर्छ । घरघरमै फोहोर वर्गीकरण गरी कुहिने, नकुहिने, पुनप्रयोग गर्न मिल्ने र फाल्नै पर्ने जस्ता फोहोर छुट्याउने गर्नुपर्छ । जैविक फोहोरबाट मल उत्पादन गर्न सकिन्छ । प्लास्टिकजन्य फोहोर रिसाइक्लिङ गर्न सकिन्छ । र कतिपय त पुनप्रयोग गर्न मिल्ने वा अरु केही चिज बनाउन मिल्ने खालका पनि हुन्छन् फोहोर ।
महानगरपालिकाले त्यस्तो योजना राखेको पनि सुनिन्छ । तर कार्यान्वयनको पाटो सुस्तै छ । महानगरपालिकाले स्थानीय समुदायसँग सहकार्य गरी फोहोर व्यवस्थापनका लागि जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । अनि घरघरै फोहोर वर्गीकरण हुनसक्छ । कतिपय टोलहरुमा त्यस्तो भइसकेको पनि छ । यस्तो अभियान सबै टोलमा कार्यान्वयन गर्ने हो भने फोहोर व्यवस्थापन जटिल हुने छैन ।
तपाईको प्रतिक्रिया