गन्नी एफसीलाई उपाधि

लेखनाथ ।
कास्कीको लेखनाथमा भएको दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गत फुटबल प्रतियोगितामा पोखराको गन्नी एफसी फुटबल क्लब च्याम्पियन बनेको छ । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रंगशालामा शनिबार भएको फाइनल खेलमा गन्नीले आयोजक सूर्य तारा नेकोसलाई ३–०ले हरायो ।
खेलमा गन्नीको तर्फबाट टीकाराज गुरुङले खेलको पहिलो हाफको १० मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिमतिर ७७ मिनेटमा विदेशी खेलाडी तहिवले दोस्रो गोल गर्न सफल भए भने खेलको अन्तिम समय ८० औं मिनेटमा तहिवले अर्को गोल थपी गन्नीलाई विजेता बनाए ।
विजेता समूहले ४ लाख ४४ हजार ४ सय ४४ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । फागुन २४ देखि सुरु भएको खेल महोत्सवमा खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, दौड प्रतियोगिता लगायत नृत्य प्रतियोगिता र संघ, संस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिताका विजयी समूहलाई सोही अवसरमा पुरस्कृत गरिएको सूर्य तारा क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिएका छन् ।
समापन कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले खेलले मानिसलाई निरोगी र अनुशासित बनाउने बताए । उनले पोखरामा सबै प्रकारका खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण भएको उनले बताए । लेखनाथमा रहेको भण्डारढिक खेल मैदानको स्तरोन्नतिका लागि समेत पहल गर्ने उनले आश्वासन दिए ।
तपाईको प्रतिक्रिया