गण्डकी ह्यान्डबलको सेमीमा

पोखरा ।
प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम ४ को यात्रा सुरु गरेको हो । प्रतियोगिताको पहिलो दिन ४ खेल भए । पहिलो खेलमा गण्डकीले सुदुरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे । सुदुरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे ।
दोस्रो खेलमा एपिएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गरे भने लम्बिनीका लागि मनोज थारुले ५ गोल गरे । तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी १ खेलअघि नै सेमीफाइनलमा प्रवेश गरेको हो । चौथो खेलमा कोशीले सुदुरपश्चिमलाई २२–१९ ले हरायो ।
प्रतियोगिता उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीमात्रै गर्दै आएको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केही नवीतम योजनाअघि सारिएको सुनाए । उनले खेलाडी विमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उदेश्यका साथ अघि बढेको सुनाए ।
उनले राज्यले खेलकुदमा बजेट विनियोजन निकै न्यून गर्दा खेलाडीको विकास हुन नसकेको बताए । दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले अब विस्तारै ह्यान्डबलका गतिविधि अघि बढ्ने सुनाए । उनले विविध कारणले अहिलेसम्म नेपालमा ह्यान्डबलको गतिविधि हुन नसक ेपनि अब भने त्यसको अन्त्य हुने बताए ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्यान्डबल संघ गण्डकी उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए । प्रतियोगिता गर्न१४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघको अनुमान छ ।
तपाईको प्रतिक्रिया