सम्पादकीय—यौन हिंसा रोक

समाधान संवाददाता २०८१ चैत ४ गते १०:४२

नेपालमा यौनहिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । पछिल्लो पटक काठमाडौं स्कुल अफ ल (केएसएल)मा भएको हिंसा चर्चाको केन्द्रमा छ । हालै पोखराको सिर्जना बहिरा माविका दुई किशोरी बलात्कारपछि गर्भवती बनेको घटना बहिरिएको छ । केएसएलमा यसमा कलेजका कार्यकारी निर्देशक युवराज संग्रौलाको नाम जोडिएको छ । एक छात्राले कलेजका कार्यकारी निर्देशक संग्रौलाले दुव्र्यवहार गरेको आरोप लगाएपछि थप ३२ विद्यार्थीले पनि आफूमाथि दुव्र्यवहार भएको बताएका छन् ।

Advertisement

यतिमात्र होइन, उनीहरुले आवाज उठाइरहँदा यसअघि कलेजमा पढेका धेरैले उनीहरुको आवाजमा ऐक्यबद्धता जनाएका छन् । शिक्षालयहरुमा अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलवा यौन तथा लैंगिक अल्पसंख्यक विरुद्धका अभिव्यक्ति र व्यवहारहरू हुने गरेको उनीहरुले दाबी प्रस्तुत गरिरहेका छन् । कानुन पढाइ हुने कलेज र पूर्व महान्याधीवक्ताको कार्यकारी नेतृत्व रहेको स्थानका बारेमा जसरी प्रश्न उठिरहेका छन्, यसलाई सामान्य रुपमा लिनु हुँदैन ।


विद्यार्थीले आफूहरुमाथि दुव्र्यवहार भएको, मौखिक दुव्र्यवहार गरिएको र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप लगाएका छन् । २४ फागुनमा केएसएलकी एक विद्यार्थीले तीन महिनाअघि आफूले कलेजमा यौन दुव्र्यवहार गरिएको घटनाबारे उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि केएसएलका अरु विद्यार्थीले पनि आफूहरू पनि त्यस्तै खालको दुव्र्यवहारका पीडित भएको भन्दै सार्वजनिक गर्न थालेका छन् । घटनामा ऐक्यबद्धता जनाउँदै करिब डेढ सय विद्यार्थीहरुले हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् ।

घटनाले ठूलो रुप लिने संकेत देखिएपछि केएसएलले घटना अनुसन्धान गर्नका लागि ’स्वतन्त्र’ छानबिन समिति गठन गरेको जनाएको छ । १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा पत्रकार तीर्थ कोइराला र लैंगिक विभेदविज्ञ सीमा धामी सम्मिलित समिति गठन गरिएको छ । छानबिन चलुन्जेल निर्देशक संग्रौला कलेजको प्रशासनिक र अन्य कामबाट निस्क्रिय रहने केएसएको दाबी छ ।

नेपाली समाजमा पछिल्लो समय यौनजन्य हिंसाका घटना बढ्दै गएको देखिएको छ । समाजमा आज पनि यौनको विषय महिलाको इज्जतसँग जोडेर हेरिने भएकोले यस्ता घटना सितिमिति सार्वजनिक हुँदैनन् । कोही बोल्ने प्रयास गरिहाले घर, परिवार, गाउँसमाजमै मिलाउनेहरु अग्रसर भएको देखिन्छ । प्रहरीमा कमैमात्र पुग्ने गर्छन् । उजुरी परेको तथ्यांकलाई मात्र हेर्ने हो भने यौन हिंसाका घटना धेरै छन् । यसमा बालिकाको संख्या धेरै छ । यस्ता तथ्यहरु सार्वजनिक भइरहँदा नेपाली समाज यी सवालप्रति जति संवेदनशील हुनुपर्ने हो, त्यति भइरहेको देखिँदैन । यो मामलामा अहिले पनि नेपाली समाजको अनुदार मनोविज्ञान अर्को चिन्ताको विषय हो । यौनहिंसाका घटना सभ्य समाजका लागि कलंक हुन् । यस्ता घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई सजाय हुनैपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया