‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

समाधान संवाददाता २०८१ चैत ४ गते १९:२१

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृंखला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ ।

Advertisement

यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताए । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पाको मनोरमद दृश्य छायांकन गरिएको छ । ४६ दिन छायांकन गर्दा उनले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा कैद गरेका छन् ।


त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डो लगायत मनोरम दृश्यले पर्यटन प्रवर्धनमा टेवा पुग्ने निर्देशक आचार्यले सुनाए । ‘म लगायत धेरै चलचित्रकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण चलचित्र वा सांगीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) नै हो । हामी त्यहाँ पुग्दा पनि चलचित्रमा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र जेरीबाट राखिएको छ । त्यस कारण चलचित्रले कला, संस्कृतिसँगै पर्यटन प्रवर्धनमा समेत टेवा पुर्‍याउँछ’, निर्देशक आचार्यले भने ।
यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको विषयमा जानकारी दिन सोमबार बेलुकी काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहेका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको उल्लेख गरे ।

‘डोल्पाको संस्कृति र चलचित्रको कथा जोडिएको छ, त्यस कारण पनि हामीले छायांकन गर्न डोल्पा नै रोजेका हौँ । यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु’, उनले थपे । नेपाल आइडलको दोस्रो शंखलाका विजेता गायक रवि ओड यसै चलचित्रमार्फत अभिनेता बनेका छन् । अभिनयमा रुचि भएकाले नै तयारी गरेर चलचित्रमा काम गरेको गायक ओडले उल्लेख गरे ।

‘आफ्ना गीतको श्रव्यदृश्यमा देखिँदा केही आत्मविश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ । मैले राम्रो काम गर्ने कोसिस गरेको छु, यसको प्रतिक्रियाले पनि आउँदो दिनमा अभिनयमा निरन्तरता दिने विषयमा निर्णय लिन सहज बनाउनेछ’, ओड भन्छन् ।

Advertisement

यसै चलचित्रमार्फत आश्विनी शाहीले पनि अभिनय सुरुआत गरेकी छन् । आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले आफू अभिनय गर्न प्रेरित भएको अभिनेत्री शाहीले सुनाइन् । ‘मेरो लागि यो अवसरसँगै चुनौती थियो । किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ । पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेको छु । पहिलो चलचित्रमै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु’, उनी भन्छिन् ।

निर्देशक आचार्यले गायक ओड, अभिनेत्री शाहीझैँ अन्य केही नवकलाकारलाई अडिसनमार्फत छनोट गरेर अवसर दिइएको जानकारी दिए । ‘चलचित्रमा नयाँ प्रतिभाको उपस्थिति आवश्यक देखेर नै मैले नयाँ अनुहार अभिनय गराएको छु । मैले कथामा लेखेको पात्रलाई चलचित्रमा जीवन्त बनाउने कुरामा नयाँ भए पनि कोही कलाकार कमजोर हुनुहुन्न’, निर्देशक आचार्यले भने ।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् । यसमा सौरभ शर्माले पाश्र्व संगीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायांकन गरेका छन् । रासस

तपाईको प्रतिक्रिया