छोरेपाटनको दुर्गा मन्दिरमा चैत्राष्टमी पारेर कोटी दीप प्रज्ज्वलन

समाधान संवाददाता २०८१ चैत ४ गते १९:२७

पोखरा । कास्कीको पोखरा १७ छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत २३ गते चैत्राष्टमीको अवसरमा नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दीप प्रज्वलन गरिने भएको छ ।

Advertisement

मन्दिर व्यवस्थापन समितिको आव्हानमा चैत्राष्टमीको अवसरमा जगतको शान्ति र सम्वृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिका लागि विन्दवासिनी मन्दिरका व्यासासिन पण्डित डा भोलानारायण रेग्मी मुख्य वाचक र अन्य गुरुहरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजाप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

कोटी दीप प्रज्ज्वलनको पूर्व सन्ध्यामा बाजागाजा, भजनकीर्तनसहित शिव पार्वती झाँकीद्धारा छोरेपाटन बजार परिक्रमा गरिने भजन संयोजक हिमलाल उपाध्यायले बताए । सुरुवाती अवस्थामा केही आरोह र अवरोह पार गर्दै माताको आराधना एवं पूजापाठ गर्दै केही समय स्थानीय भक्तद्वारा पूजाआजा गर्दै आएकोमा यस दुर्गा मन्दिरमा भक्तजनद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिंग स्थापना गरिएको थियो ।

मन्दिरको विशेष आम्दानीको स्रोतको रुपमा भक्तजनको विशेष सहयोगमा नवदुर्गा पूजा महोत्सव, शनि त्रयोदशी, विशेष पूजा महोत्सव, मंगलचौथीं पूजा एवं शिवरात्री पूजा सहयोग आदिबाट दैनिक पूजा चल्दै आएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद अधिकारी (शर्मा)ले बताए ।

पोखर १७ र २२ को सिमानामा रहेको दुर्गा मन्दिर शक्तिपीठ धामको स्थापना २०३७ सालमा भएको हो । रुद्रनाथ बराल र शशिधर बरालबाट जग्गा प्राप्त गरी तत्कालीन दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको परिकल्पनामा स्थापना भएको समितिका वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज बरालले वताए ।

Advertisement

समितिद्वारा मन्दिरको संरक्षण गर्दै अवनेश्वर शिव मन्दिर, गण्डकी प्रदेशको एकमात्र १०८ पीपल पुण्यधाम र सूर्य चक्र शनिदेव शिला स्थापनाका साथै विभिन्न देवीदेवताका मूर्ती विग्रह स्थापना गरी आफ्नो दैनिक पूजापाठको लागि समितिद्वारा पण्डित रामप्रसाद नेपाललाई पण्डित नियुक्ति गरी विगत वर्षदेखि दैनिक पूजापाठ एव आराधना गरिँदै आएको उपाध्यक्ष मोहनलाल पौडेलले बताए ।

कार्यक्रममा कर्ताको रुपमा सहभागी हुनका लागि १ लाख दीप प्रज्ज्वलनमा बाती, तिलको तेल र पूजा सामग्रीका लागी लाग्ने खर्च ५ हजार १ सय र एकमुष्ट भुक्तानी गर्न चाहनुहुनेलाई समितिद्वारा व्यवस्था मिलाइएको सचिव ध्रुवराज बरालले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया