कटहरका रुख धमाधम सुके, किसान चिन्तित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।
विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताउनुभयो । “चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्”, उहाँले भन्नुभयो ।
कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् । यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट रु १० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।”
किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए । जसमध्ये अहिले आठ वटा सुकिसकेको उहाँले बताउनुभयो । बर्सेनि रु ४० हजारको कटहर बेच्दै आउनुभएका उहाँले अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुग्नुभएको छ । “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो”, श्रेष्ठले भन्नुभयो ।
एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् ।
यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ । “कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ”, उहाँले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी–किराको प्रकोप देखिएको जनाएको छ । “तर यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ”, कृषि अधिकृत रमा कार्कीले भन्नुभयो । रासस





आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया