खानेपानी कर्मचारी संघको बैठक

समाधान संवाददाता २०८१ चैत ५ गते ११:११

पोखरा ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको २२ औं जुम बैठक मंगलबार भएको छ । कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको जुम बैठक संघका महासचिव पदमहरि राईले विराटनगरबाट सञ्चालन गरेका थिए ।

Advertisement


भद्रपुर शाखाबाट स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष राजु बस्नेतले संस्थानको हितमा कर्मचारी संघले गरेको कार्यलाई बजारीकरण नहुँदा समस्या पैदा भएको धारणा राखे । बैठकले नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकाललाई बधाई ज्ञापन गरेको छ ।


कर्मचारी संघले कर्मचारी सेवा, शर्त विनियमावली छिटो ल्याउनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष संस्थानमा लागू गराउनु पर्ने, जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने, कामको जिम्मेवारी नभएका कर्मचारीलाई अबिलम्ब शाखागत कामको जिम्मेवारी प्रदान गर्नुपर्ने, महशुल वृद्धि गर्नुपर्ने, दण्ड र पुरस्कारको प्रभावकारी नीति कार्यान्वयन गर्नुपर्ने लगायत विषयमा छलफल भएको संघका उपाध्यक्ष सरजुन केसीले बताए ।


संघकी कोषाध्यक्ष शान्तिकुमारी ज्ञवालीले केन्द्रीय कार्यालयबाट हुने तथा भएको संघको गतिविधिको जानकारी दिएकी थिइन् । केन्द्रीय समितिले नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिमा संस्थान गतिविधि, कर्मचारीका समस्या तथा समाधान, संस्थान हितमा संघबाट गर्नुपर्ने कार्यबारे जानकारी दिँदै आएको केन्द्रीय सदस्य हरि अधिकारीले बताए ।

बैठकमा सचिव अजयकुमार प्रसाद, अनिल शर्मा सुवेदी, प्रेमबहादुर वली, अनुभा अर्याल, ईन्द्रराज पाण्डे, तारिप्रसाद भट्टराई, नवराज भट्ट, वीरेन्द्रकुमार सिंह, राजेश बर्मा लगायतले विभिन्न धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया