सम्पादकीय—स्ववियु चुनावलाई विवाद रहित बनाऔं

समाधान संवाददाता २०८१ चैत ५ गते १२:०४

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक, सामुदायिक र निजी क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । यसपटक ४७ आंगिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने तय भएतापनि ६२ आंगिक क्याम्पसहरूमध्ये १३ क्याम्पसमा विवादका कारण निर्वाचनको प्रक्रिया अघि बढेको छैन । केहीमा निर्वाचन सुरु हुने वेलामा भएको प्राविधिक त्रुटीले स्थगित भएको छ । निर्वाचन निर्देशिकामा रहेका अस्पष्ट व्यवस्था, पदाधिकारी नियुक्तिदेखि निर्वाचनका उम्मेद्वारी छनोटसम्मका कारण स्ववियु निर्वाचन विवादको भूमरीमा फसेको छ ।

Advertisement


स्ववियु विद्यार्थीहरूको एक मात्र वैधानिक तथा आधिकारिक संस्था हो । त्यहाँको निर्वाचनमा विद्यार्थी संगठनहरूबीच स्वतन्त्र र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने हो । तथापी विद्रोह र सिर्जनाको चेतनाले स्थापित विद्यार्थीहरूको साझा संस्था स्ववियुको निर्वाचन प्रक्रियामा बारम्बार विवाद उत्पन्न हुने गर्छ । निर्वाचन प्रक्रियामा हुने विवादले क्याम्पसको शैक्षिक वातावरण अशान्त बनाउने मात्र होइन, विद्यार्थी संगठनहरू र विद्यार्थी राजनीतिको औचित्यमै प्रश्न उठ्ने गरेको छ । विशेषगरी, संगठनहरूको आधिकारिकता निर्धारण, मतपत्रमा नामको क्रम राख्ने तरिका जस्ता विषयमा मतभेद भएको छ ।


एउटै विद्यार्थी संगठनका दुईवटा समूह, उपसमूह दर्ता भएमा कसलाई आधिकारिक मान्ने भन्ने विषयमा पनि विवाद छ । परिणामस्वरूप, सदर तथा बदर भएको संगठन दर्ताका पक्षधरबीच थप तनाव सिर्जना भएको छ । त्यसैले संगठन दर्ता प्रक्रियालाई पारदर्शी बनाउन निश्चित मापदण्डहरु स्पष्ट रूपमा परिभाषित गर्नु पर्ने देखिन्छ ।


स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूका निर्णयहरू स्वतन्त्र रूपमा नभई मातृ पार्टीका नेताहरूको दवाबमा हुँदा योग्य उम्मेदवारहरू पछि पर्दा शैक्षिक क्षेत्रको उन्नयनका लागि नवीन सिर्जनशील र प्रगतिशील योजनाहरू समेत ओझेलमा परेका छन् । यस्तो प्रवृत्तिले सम्बन्धित संगठन र क्याम्पसहरूमा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको छ ।


विश्वविद्यालयका पदाधिकारीदेखि क्याम्पस र क्याम्पस प्रमुखसम्म र विद्यार्थी कल्याण परिषद्को निर्देशक नियुक्त हुँदा हुने राजनीतिक भागबण्डाले स्ववियु निर्वाचनलाई असर पुर्‍याएको छ । निर्वाचन समितिका संयोजक तथा सदस्यहरू नै दलीय आधारमा नियुक्त हुँदा पनि समस्या थपिएको छ । निर्वाचन समितिमा बाह्य पर्यवेक्षक (निष्पक्ष प्राध्यापक वा नागरिक समाजका प्रतिनिधि) समावेश गरिनुपर्छ ।

Advertisement


देशको राजनीतिक नेतृत्व क्याम्पसमा हुर्किरहेको छ । स्ववियु निर्वाचन राजनीतिक नेतृत्व स्थापित गर्ने थलो हो । त्यसैले विद्यार्थी राजनीतिको औचित्य माथि प्रश्न गर्ने भन्दा पनि यसलाई रुपान्तरण गर्न सहयोग गर्नुपर्छ । स्ववियु निर्वाचन विद्यार्थीहरूको नेतृत्व विकास गर्ने प्रमुख अवसर हो । यदि यो निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गरियो भने विद्यार्थीहरुको भविष्य मात्र होइन, समग्र शैक्षिक प्रणालीमै सकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ पारदर्शी र विवादरहित स्ववियु निर्वाचन सुनिश्चित गर्न आवश्यक सुधारहरू अविलम्ब गर्नुपर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया