बारको निर्वाचन र डिएलए नेतृत्व !

बहुदलीय व्यवस्थाको प्रादुर्भावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डिएलए नेपाल । हाल यसको नेतृत्व सीताराम केसीजीले गर्नुभएको छ । कुनै पनि संस्थामा संगठनलाई भन्दा अवसर वा नेतालाई महत्व दिन थालियो भने, आफूलाई नेता मान्नेहरु माथि अपमान वा बदलाको भाव साँच्ने हो भने त्यस्तो संगठन स्वभावतः धराशयी हुन जान्छ । वर्तमान अवस्थामा डिएलएले यही नियति वा दुर्गति व्यहोरिरहेको छ ।
हेलिकोप्टरमा ट्र्याक्टरको इन्जिन !
जुनसुकै संस्था वा संगठनको नेतृत्वमा रहनेहरुसँग केही विशिष्ट गुणहरु अवश्य रहनु पर्ने हुन्छ । सदा हँसमुख अनुहार, आर्थिक मामिलामा उदारता, संगठनलाई जिवन्त राख्नका लागि चट्टानी अडान जस्ता विशेषताहरु नेतृत्वमा रहन सकेन भने हेलिकोप्टरमा ट्र्याक्टरको इन्जिन फिट गरेजस्तो अवस्था हुन जान्छ ।
वर्तमान डिएलए को नेतृत्वको रुन्चे अनुहार त्यसमाथिको अहंकार वा आडम्बर र संगठनप्रतिको धरमराहटले डिएलएमा आबद्ध मेचीदेखि महाकालीसम्मका साथीहरुको आशा र भरोसा चुँडिएको छ, निराशा चुलिएको छ । डिएनएको वर्तमान नेतृत्वले आफ्नो प्रतिष्ठा वा विश्वास गुमाइसकेको छ ।
कहाँनेर चुक्यो नेतृत्व ?
डिएलएको वर्तमान नेतृत्वको हाउभाउ, प्रस्तुति वा उपस्थिति कुनै पनि हिसाबले संगठन भित्रका साथीहरुका लागि सुरुका दिनदेखि नै भरोशायोग्य अवश्य थिएन । यद्यपि टिम स्प्रिटमा रहँदा केही अवश्य होला भनी आशा गर्नु स्वाभाविक पनि थियो । नेतृत्व हात पर्नासाथ नेतृत्वमा देखा परेको अस्वाभाविक घमण्ड र आडम्बरले भुइँ छाडिसकेको थियो । कानुन व्यावसायी साथीहरुको जीवन वृत्ति, पेशागत मर्यादा, व्यावसायिक तालिम, स्वास्थ्य सुरक्षा र दुर्घटना विमा जस्ता सवालहरुमा नेतृत्वले सुरुदेखि नै आफ्नो असक्षमता देखाएकै थियो ।
त्यो भन्दा बढी आगामी २०८१ चैत्र २३ गते सम्पन्न हुन गइरहेको आसन्न बार निर्वाचनमा डिएलएको रहनुपर्ने ओजपूर्ण उपस्थिति, उम्मेदवारी घोषणा, सांगठनिक एकता कायम गर्न वर्तमान नेतृत्व पूर्णतया असफल भइसकेको छ । यसले उम्मेद्वार घोषणामा पार्टीगत हस्तक्षेप भएको भन्दै सुतुरमुर्ग प्रवृत्तिमा टाउको लुकाउने पर्यत्न गरिरहेको छ । डिएलए नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्था अवश्य हो ।
डिएलए ले पार्टीको आदेश के आउला ? भन्दै तुर्लुङ्ग च्यापु टेकाउने, नेतृत्वसँगको पराधिनतामा लम्पसार पर्ने, स्वनिर्णयको आँट गर्न नसक्ने, पार्टी नेतृत्वसँगको आश र त्रासमा आफूलाई झुण्ड्याउने र संगठनको नामबाट केहि गर्नै नसक्ने भएपछि मातृपार्टीले हस्तक्षेप गर्नु स्वाभाविकै हो ।
वर्तमान डिएलएको केन्द्रीय नेतृत्वका कारण संगठन विषाक्त र शिथिल भइसकेको छ । संगठनमा त्याग गरेका साथीहरुले नेतृत्वप्रति भर, पत्यार वा विश्वास गर्न छाडिसक्नुभएको छ । नेतृत्वको सत्ता रजगज केबल भ्यागुताको भुँडी फुलाई प्रतीत हुन पुगेको छ । नेतृत्वप्रति चौतर्फी छिछि र दूरदूरको अवस्था आइसकेको छ ।
भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले पराजित गरिदिन्छ
नेपाली कांग्रेसले सामान्यतयः शुभेच्छुक संस्थाका गतिविधिहरुमा हस्तक्षेप नगर्ने नीति अपनाएको कुरा तपाई हामी सबैलाई जानकारी नै छ तर जब शुभेच्छुक संस्थाको नेतृत्व आफैले समयमा यथोचित निर्णय गर्न नसकेर पार्टीगत पराधीनतालाई ढोका खुला राख्छ, पार्टीप्रति लम्पसार वा त्वम् शरणमको नीति अख्तियार गर्छ भने त्यो स्थितिमा पार्टी चुप लागेर बस्दैन, उसले आफ्नो हात वा गतिविधि अवश्य अघि बढाउछ, अहिले भएको त्यही हो ।
डिएलए को वर्तमान नेतृत्व इतिहासको सबैभन्दा दुरनाम भएको छ कि, अब पनि यही नेतृत्वको जिम्मामा संगठन सुम्पिँदा बचेखुचेको संगठनको साख सबै समाप्त भएर जानेछ । एउटा लोकोक्ति पनि ख्याल गरौं, ‘भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले पराजित गरिदिन्छ,’ अहिले भएको त्यही हो ।
वर्तमान नेतृत्वको पछाडि भरोसा गरेर उभिएका हजारौं समर्थकहरुलाई यथोचित गन्तव्यमा पु¥याउन सक्ने क्षमता नहूँदा वा नेताहरुसँग ङिच्च दाँत ङिच्याउँदै लम्पसार पर्दा संगठनमा विचलन आउनु स्वाभाविकै थियो । सायद यसमा नेतृत्वसँग लम्पसार भई आफ्नो दास स्वभाव प्रदर्शन गर्दा भविष्यमा केही झर्ला र खाउँला भन्ने विश्वास तपाईंलाई अवश्य होला तर, तपाईको यही असक्षमताले गर्दा आफू कसैले नपत्याउने गरी दुरनाम त हुनुभयो हुनुभयो संगठनलाई पनि चरम गुटवादीगत झुण्डमा देखिने गरी नै विभक्त गराइदिनुभयो, यसको सम्पूर्ण जिम्मेवारी लिने थोरै भएपनि नैतिक साहस तपाईंसँग छ–छैन? डिएलए सम्बद्ध सबै साथीहरुको तर्फबाट प्रश्न सोध्न चाहन्छु ।
डिएलए नेतृत्वको पेवा होइन !
डिएलएको वर्तमान नेतृत्वले आफू संगठनभित्र दुरनाम भइसक्दा पनि दोष अरु कसैको टाउकोमा फ्याँकेर आफूलाई पानीमाथिको ओभानो बनाउने अत्यन्त दूरनियतपूर्ण दाउमा राखेको देखिन्छ । विशेषतः पार्टीले हस्तक्षेप गरेका कारण आफूले उम्मेद्वार चयनमा भूमिका प्राप्त नगरेको भन्ने सफाइ पेस गर्दै हिँडेको देखिन्छ । आफ्नो अक्षमता, अनुदार चरित्र र नालायकी व्यवहारलाई ढाकछोप गर्न वा टार्न उहाँले हालसम्म बारको उम्मेद्वारी घोषणा गरेको यतिका दिन वित्दा पनि आफ्नो समितिको मिटिङ बोलाएर यथार्थ कुरा राख्ने वा भन्ने हिम्मत देखाउन सक्नुभएको छैन ।
उहाँकै कारणले उम्मेद्वार बनाएर उभ्याइएका साथीहरुको चुनावी माहोल सिर्जना गर्न वा सामान्य छलफल गराउनबाट उहाँ भागि रहनुभएको छ । डिएलए सम्बद्ध साथीहरुबाट उठ्न, उठाउन सकिने सम्भाव्य प्रश्नहरु वा असन्तुष्टिको सामना गर्न नसकेर, ‘तुर्के…. ’ को अवस्थामा पुग्नुभएको छ, यो उहाँको नादानीपनले एक मिनेट पनि उहाँलाई नेतृत्वमा रहिरहन शोभा दिँदैन ।
डिएलएको वर्तमान नेतृत्वले संगठनभित्रका हजारौं स्वाभिमानी साथीहरुको स्वाभिमानमाथि खेलवाड गरिरहेको छ । सामान्यतयः नेपाली कांग्रेस पार्टीलाई समेत विश्वासमा लिएर वा आफ्नो चट्टानी अडान कायम गरेर उम्मेद्वार छनोट समिति अर्थात डिएलए बाटै उम्मेद्वार घोषणा गर्न सक्नु पर्दथ्यो, यदि सो गर्न सक्नुभएन र झर्ला र खाम्लाको प्रेरणाबाट अभिप्रेरित भएर पार्टीपंक्तिसँग लम्पसारवादमा उहाँ पुग्नुभयो तब पनि घोषित उम्मेद्वारहरुलाई साथमा लिएर डिएलए भित्रको असन्तुष्टिलाई समाप्त पार्न सक्नुपथ्र्याे । दुबै कार्यमा आफू निरीह वा असफल स्थापित भइसकेपछि उहाँले आफ्नो पदीय दायित्वबाट अलग्गिनु बाहेक अर्को विकल्प रहन सक्दैन तसर्थ उहाँ आफूले राजीनामा गरेर वैकल्पिक नेतृत्वका लागि मैदान खाली गर्नुपर्छ ।
नेतृत्वले संगठनभित्र सदैव आश वा त्रास जगाइरहनु पर्छ, चुतिया मनस्थिति पालेर सदैव अरुलाई मारेर वा धोका दिएर होइन, नेतृत्वले आँफू स्वयं मर्न तयार भएर संगठनलाई जीवित राख्न सक्नुपर्छ, संगठनमा काम गर्ने कार्यकर्ताहरु माझ इन्साफ वा न्याय प्रवाह पनि गर्नुपर्छ । पार्टी नेतृत्व समक्ष च्यापु टेकाएर, तुर्लुङ झुन्डिएर, के झर्ला र खाम्ला भनेर लम्पसार पर्ने नेतृत्वले आसन्न निर्वाचनमा डिएलएको तर्फबाट उम्मेद्वारी दिनेहरुलाई कसरी सुरक्षित अवतरण गर्न सक्नुहुन्छ ? यसैलाई सिंहको फौजलाई भेडाले नेतृत्व गरेको अवस्था मान्नु पर्ने हुन्छ ।
डिएलएको नेतृत्वको नालायकीका कारण कतिपय निष्ठावान साथीहरु अन्यत्र ओत लाग्न पुगेको कुरालाई कसरी टुलुटुलु हेरेर बस्नुभएको छ? तपाई आफैले संगठन भित्र डढेलो लगाउन आगो झोस्नुभएको छ, संगठनभित्र आगो झोसेका कारण लागेको डढेलोले संगठनको साझा चुल्हो बल्न हम्मेहम्मे हुन गएको छ, यो कुरामा न्यूनतम जिम्मेवारी लिनबाट किन भाग्दै हुनुहुन्छ ? नेतृत्व समक्ष मेरोमात्र होइन संगठन सम्बद्ध साथीहरुको अर्को पनि प्रश्न छ कि, ‘हुँडारलाई भण्डार’ को नेतृत्व सुम्पदाको अवस्था के हुन्छ ? तपाईंले संगठनलाई सोही हालतमा पुर्याउनुभएको छ र तपाईं नायक होइन खलनायक सावित भइसक्नु भएको छ । तसर्थ, डिएलए मेरै पेवा हो भनेर संगठनलाई अनिर्णयको बन्दि नबनाउनुहोला हजुर समक्ष सबै साथीहरुको तर्फबाट विनम्र निवेदन गर्दछु ।
डिएलए सम्बद्ध साथीहरु विचलित नहऔँ !
नेतृत्वले जस्तोसुकै नालायकीपन प्रदर्शन गरेता पनि हामी हाम्रो आस्थाको मूल्य, वैचारिक धरातल सांगठनिक अनुशासनबाट कहिल्यै पनि विचलित छैनौं । आसन्न निर्वाचनमा लोकतान्त्रिक मूल्य, मर्म र मान्यतालाई आत्मसात गर्दै डिएलए सम्बद्ध साथीहरु र यसको सांगठनिक सहयात्री उम्मेद्वारहरुलाई मतदान गर्नबाट कोही पनि भाग्ने छैनौं । तर, संगठनलाई अनिर्णयको बन्दी तुल्याएर संगठनभित्र कलह, द्वेष, वैमनश्य र झगडा सिर्जना गर्ने नेतृत्व हामी कसैका लागि स्वीकार्य रहन सक्दैन । आफ्नो वैचारिक आस्था र धरातलबाट विचलित नहुन सबै साथीहरुसँग विनम्र आग्रह छ ।
अब नेतृत्वले मैदान खाली गरोस् !
डिएलएभित्र नायकको भूमिका प्रदर्शन गर्नुपर्ने नेतृत्व स्वयं खलनायक भइसकेपछि, नेतृत्वको विवेकहिनताले डिएलएको वैचारिक शक्ति क्षिण भइसकेपछि, नेतृत्वकै कारणले डिएलएभित्र राग, द्वेष र कलह सिर्जना भई संगठन अस्तव्यस्त भइसकेपछि अझै पनि दोष अरुको टाउकोमा थोपरेर नेतृत्वले उम्कन पाउने अवस्था रहँदैन ।
अब पनि नेतृत्वलाई गोहीका आँसु बगाएर केही पात्रहरुको निगाहा वा आशीर्वादमा पदमा रहिरहन कुनै पनि कोणबाट सुहाउँदैन । वर्तमान नेतृत्वलाई डिएलए सम्बद्ध मेचीदेखि महाकालीसम्मका कुनै पनि साथीहरुले स्वीकार्ने वाला पनि हुनुहुन्न, तसर्थ अब नेतृत्वले राजीनामा गरेर मैदान खाली गरोस् । राजीनामाले नै संगठनको मात्र होइन स्वयं तपाईंको पनि कल्याण गर्ने छ ।
(गण्डकीका मुख्य न्यायाधिवक्ता शर्मा वरिष्ठ अधिवक्ता एवं डिएलए नेपालका आजिवन सदस्य हुन् )
तपाईको प्रतिक्रिया