बागलुङको काठेखोलामा सहकारी लेखा व्यवस्थापन तालिम

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ बागलुङको समन्वयमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा तीन दिने सहकारी लेखा व्यवस्थापन तालिम भएको छ ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले तालिम उदघाटन गर्दै बचतकर्ताको बचत सुरक्षित राख्नुका साथै जनस्तरमा आर्थिक समृद्धि हासिल गर्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू जिम्मेवार हुनुपर्ने बताए । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले कृषकका उत्पादनलाई सहकारीमार्फत अनुदान दिने गरी पालिकाले नीति तथा कार्यक्रम ल्याएको बताए । तालिममा स्वागत मन्तव्य राख्दै जिल्ला सहकारी संघका अध्यक्ष तथा सहकारी महासंघकी सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले काठेखोलाका टाढा–टाढाका गाउँबाट सहभागी भएका सहकारीका सञ्चालक तथा व्यवस्थापकहरूले सक्रियतापूर्वक भाग लिई सिकाइ प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् ।
कार्यक्रमको अध्यक्षता रजिष्ट्रार भेषराज रिजालले गरेका थिए भने कार्यक्रम सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्लेले गरेका थिए । तालिममा सहकारी सञ्चालक तथा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, ऋण लगानी र असुली, लेखा व्यवस्थापन, सहकारी कानुन लगायतका विषयमा कक्षा सञ्चालन भएका थिए । रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल, शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसी र तेजेन्द्र थापा मगरले कक्षा सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया