सम्पादकीय—स्ववियुको औचित्य

नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा विद्यार्थी राजनीतिको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । दलहरु प्रतिवन्धित रहेको अवस्थामा र प्रजातन्त्रपछि पनि अधिकार र परिवर्तनका आन्दोलनमा विद्यार्थीहरु सधै अग्रमोर्चामा देखिँदै आएका छन् । विद्यार्थीका संगठनहरुले शैक्षिक मागमात्र होइन, देशको परिवर्तनमा पनि प्रेरक भूमिका निर्वाह गरेका छन् । यसले विद्यार्थीको आवाजलाई संस्थागत रुप दिएर समाज र राज्यसँगको अन्तरक्रियामा सञ्चालकको काम गरेको छ । तर, आज यसको भूमिका र प्रासंगिकता पुनः परिभाषित गर्नु आवश्यक देखिएको छ ।
नेपालमा विद्यार्थी आन्दोलनको इतिहास २००७ सालको प्रजातान्त्रिक आन्दोलनभन्दा पहिल्यै सुरु भएको थियो । राणा शासनविरुद्धको आन्दोलनमा विद्यार्थीहरु अग्र पंक्तिमा थिए । २००७ सालको क्रान्तिपछि पनि विद्यार्थीका संगठनहरुले प्रजातन्त्र, शिक्षा र समानताको लागि आवाज उठाउँदै आए । २०३६ सालपछि पञ्चायत कालमा पनि विद्यार्थी संघहरुले सक्रिय भूमिका खेलेका थिए । दलहरुलाई प्रतिबन्ध लगाइएको पञ्चायत कालमा प्रजातन्त्र र अधिकारको वकालत गर्ने र आवाज उठाउने मुख्य मोर्चा विद्यार्थी नै थियो ।
२०४६ को जनआन्दोलन र २०६२/०६३ को दोस्रो आन्दोलनमा पनि विद्यार्थीले प्रभावशाली भूमिका निर्वाह गरेको तथ्य भुल्न मिल्दैन । यी आन्दोलनले विद्यार्थीका संघ, संस्थालाई राजनीतिक परिवर्तनका प्रमुख साझेदार नै बनाएका छन् । विद्यार्थीका संघ, संगठनहरुले प्राथमिक कर्तव्य विद्यार्थीको अधिकार र हित रक्षा गर्नु हो । शैक्षिक गुणस्तर, छात्रवृत्ति, परीक्षा प्रणाली, शुल्क नीति जस्ता विषयमा विद्यार्थीका मागलाई संस्थागत रुपमा प्रस्तुत गर्नु विद्यार्थीका संघ, संस्थाको दायित्व र जिम्मेवारी दुवै हो ।
सामाजिक न्याय, समानता, राष्ट्रिय एकताको लागि पनि विद्यार्थी संघहरुले चेतना फैलाउने अभियान चलाउनु पर्छ भन्ने मान्यता रहिआएको छ । तर, अहिले धेरै विद्यार्थी संघहरु राजनीतिक दलको भातृसंगठन बनेका छन् । यसले गर्दा विद्यार्थीका एजेन्डा, आवश्यकताको सट्टा राजनीतिक स्वार्थले प्राथमिकता पाएको छ । विद्यार्थीका मागभन्दा पनि दलहरुको निर्देशन पालनामा उनीहरु सीमित बनेका छन् ।
सोही कारणले उनीहरुमाथि अहिले विश्वसको संकट देखिएको छ । राजनीतिक हिंसा, क्याम्पसमा अशान्ति र भ्रष्टाचार जस्ता आरोपले संघ, संठठनको छवि धुमिल भएको छ । आपसमा हानाहान र मारामारको अवस्था शैक्षिक संस्थाहरुमा बारम्बार देखिने गरेको छ । यो शोभनीय हुनै सक्दैन । यो जस/अपजसको भागिदार राजनीतिक दलहरु नै हुन् ।
विद्यार्थीहरुले नेपालको इतिहासलाई प्रभावित गरेका छन्, भविष्य उनीहरुकै हातमा छ । अहिले देशैभर स्ववियु चुनावको परिणाम सार्वजनिक भइरहेको छ । चुनाव विद्यार्थीलाई भन्दा बढी दलहरुलाई लागेको देखियो । विद्यार्थी संघ, संगठनमा लाग्नेहरु युवा वयका हुन्छन् । युवाहरुलाई कसरी अघि बढाउने, कसरी समृद्धि र विकासमा अघि लैजाने भन्ने राजनीतिक दलहरुले मार्गदर्शन गर्नुपर्छ । युगीन आवश्यकता र सवाल सम्बोधन गर्न चुके स्ववियुको औचित्य पुष्टि हुन सक्दैन ।
तपाईको प्रतिक्रिया