पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

समाधान संवाददाता २०८१ चैत ६ गते १६:४९

पोखरा ।

Advertisement

पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी भएको छ । पोखरा थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ (निट फेस्ट)सँगको सहकार्यमा गर्न लागेको महोत्सवमा पाँच देशका छ नाटक मञ्चन गरिने भएको हो ।


चैत ९ गते शनिबारबाट सुरु हुने महोत्सव चैत १२ गतेसम्म चल्नेछ । महोत्सवमा चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइने छन् । पोखरालाई सांस्कृतिक र पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक परिवर्तनले जानकारी दिए ।


महोत्सवमा उद्घाटन नाटकका रुपमा ‘मुनामदन’ मञ्चन हुनेछ । पोखरा थियटरले तयार गरेको मुनामदनलाई मौलिक रुपमा केही परिवर्तन गरी गन्धर्वले सुनाएको गाथाका रुपमा यसमा चित्रण गरिएको छ । महोत्सवले नेपाली नाटक क्षेत्रलाई अघि बढाउन योगदान गर्ने निर्देशक परिवर्तनको दाबी छ ।


‘चीनको मिनी ओपेरा, जापानको डान्स ड्रामा जस्ता फरक फरक खालका नाटक मञ्चन हुनेछन्,” उनले भने, “नाटकबारे विश्वमा कास्तो अभ्यास भएको छ, हामी के गरिरहेका छौँ भन्ने यसले ज्ञान दिन्छ ।’

Advertisement


महोत्सवमा फोरम थियटर र कार्यशालाहरुसमेत हुनेछन् । संस्कृतिकर्मी, पर्यटन व्यवसाी, सञ्चारकर्मी, नाट्यप्रेमीबिच विशेष सेसनहरु समेत हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन दिउँसो ‘मुनामदन’ मञ्चन हुनेछ भने साँझ इन्द्रेणी थियटरको प्रस्तुतिमा ‘इम्ब्रोनिक’ नाटक देखाइनेछ ।


चैत १० गते ‘द स्टेज इज कलिङ यु’ शीर्षकमा कलाकारहरु दिया मास्के र प्रकाश घिमिरेसँग संवाद हुनेछ । सोही दिन साँँझ ट्युनिसियाको नाटक मञ्चन पोखरेली थियटरमा मञ्चन हुनेछ ।

महोत्सवको तेस्रो दिन ११ गते चीनको मिनी ओपेर दर्शकले हेर्न पाउनेछन् । दिउँसो चार घन्टा लामो ‘द चार्मिङ जिन्जु ओपेरा’ चल्नेछ । सोही दिन साँझ पोखरा सांस्कृतिक पर्यटनको केन्द्र कसरी हो भन्ने विषयमा पोखराका नगर प्रमुख धनराज आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग संवाद तय छ ।


महोत्सवको अन्तिम दिन चैत १२ गते जापानको नाटक ‘मास्टर सोको एन्ड मार्गरिटा’ पोखरा थियटरमा देखाइनेछ । साँझ नेपाली र नर्वेली कलाकारले अभिनय गरेको नाटक ‘द रोज’ मञ्च हुनेछ । महोत्सवभर पद्याप्रेम थियटरले मौलिक धुनमा साथ दिनेछ भने किताब, हेन्डीक्राफ्ट, फोटोग्राफीका प्रदर्शनी पनि महोत्सव परिसरमा हुनेछ । महोत्सव गर्न ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया