अन्नपूर्णमा एकल महिला लक्षित परियोजना

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका मानवअधिकारका लागि महिला (डब्लुएचआर) एकल महिला समूह कास्कीको परियोजना निरन्तर हुने भएको छ । कुर्भे वुष्टोको सहयोगमा सञ्चालित परियोजना आगामी ३ वर्षका लागि थप भएको हो ।
डब्लुएचआर कास्कीले बुधबार अन्नपूर्णमा परियोजना वार्षिक कार्यक्रमको परिचयात्मक कार्यशाला आयोजना गरेको छ ।
कार्यक्रममा डब्लुएचआर कास्की अध्यक्ष जूना केसीले पौने ११ लाख बजेटबाट वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनले ८७ प्रतिशत एकल महिला अशिक्षित देखिएको उल्लेख गर्दै संस्थाले उनीहरुलाई संगठित गर्दै अधिकारका लागि पौरवी, सशक्तीकरण र क्षमता विकासमा सघाउ पु¥याउँदै आएको जनाइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कमजोर, अशक्त, पछि परेकाहरुलाई सघाउनु स्थानीय सरकारको समेत दायित्व भएको उल्लेख गरे । उनले एकल महिलाको सशक्तीकरण र आयआर्जनका लागि संस्थासँग पालिकाले सहकार्य गर्ने प्रतिवद्धतासमेत गरे । पालिकाले यसपालि एकल महिलाका लागि एक लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले एकल महिलालाई आत्मनिर्भर व्यावसायिक बनाउने खालका कार्यक्रमअघि बढाउनुपर्नेमा जोड दिइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पहिचान, पहुँच र प्रतिनिधित्व ग्यारेन्टी गर्दै सकारात्मक पक्षलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, डब्लुएचआर कास्की उपाध्यक्ष विष्णु सुवेदी लगायतले बोलेका थिए । आर्थिक दिगोपन, शिक्षा र स्वास्थ्य अधिकारको क्षेत्रमा डब्लुएचआर कास्कीसँग सहकार्य गर्दै आएको कुर्भे वुष्टोकी प्रादेशिक अधिकृत मुना पुनले बताइन् ।
तपाईको प्रतिक्रिया