पोखरामा चिनियाँ नृत्यको रौनक

समाधान संवाददाता २०८१ चैत ६ गते २०:१८
सांस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्दै चिनियाँ कलाकार पोखरा(कास्की) , ६ चैत : नेपाल र चीनबीच औपचारिक मित्रता कायम भएको ७०औँ वर्षगाँठको अवसरमा पोखरा महानगरपालिका र चिनियाँ दूतावासद्वारा बुधबार साँझ पोखरा सभागृहमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्दै चिनियाँ कलाकारहरु। तस्बिर : राधिका कँडेल/रासस

पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्धको ऐतिहासिक ७० औं वार्षिकोत्सवको सन्दर्भमा चिनियाँ राजदुतावासले पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

पोखरा भ्रमण वर्ष २०२५ तथा पोखरा पोखरा–छेन्दु व्यावसायिक चार्टर उडान प्रारम्भको खुसीयालीमा भएको कार्यक्रममा चीनका राष्ट्रिय कलाकारले परम्परागत मौलिक संस्कृत झल्कने आकर्षक प्रस्तुति राखेका छन् । समारोहमा हिमाली सांस्कृतिक परिवारका कलाकारले समेत कौरा नृत्य देखाए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपालको पर्यटनको राजधानी पोखरा विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले पोखरा विमानस्थलबाट चीनको छेन्दुसम्म सिधा व्यवसायिक उडानले प्रदेशको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशका सबै जिल्लाले आ–आफ्नै विशेषता र फरक फरक पहिचान बोकेका चर्चा गर्दै उनले प्रदेश मौलिक कला संस्कृति, रीतिरिवाज चाल चलन भेषभूषा, ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण भएको उल्लेख गरे । ‘प्राकृतिक सुन्दरताले भरिपुर्ण प्रदेश पर्यटकीय हिसाबले निकै महत्वपूर्ण र प्रचुर सम्भावना छ । गण्डकीलाई मुलुकको पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलित स्थापित मान्यताहरुको सूक्ष्म विश्लेषण तथा मुल्यांकन गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको छ ।’

मन्त्री बस्यालले चीनसँग नेपालको सम्बन्ध घनिष्टता, महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गरे । उनले चीन सरकारले सन २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तय गरेकोमा आभार प्रकट गरे । चिनियाँ नागरिकलाई नेपाल भ्रमण भ्रमण गर्नका लागि विभिन्न औपचारिक कार्यक्रम गरी रहेको उल्लेख गर्दै उनले चिनियाँ नागरिकलाई नेपाल र गण्डकीको प्रदेशको भ्रमणको लागि आमन्त्रण गरे ।

Advertisement

नेपालको समग्र विकासमा योगदान तथा महत्वपूर्ण सहयोग गर्दै आएकोमा चीन सरकारप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा समेत समय सापेक्ष सहयोगको अपेक्षा गरे ।

नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठलाई समेत मध्यनजर गरी पोखराबाट भएको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
उनले नेपाल–चीनबीचको मित्रताको गहिरो सम्बन्धलाई झल्काउँदै आपसी सहकार्य र सम्बन्ध विस्तारका लागि सांस्कृतिक कार्यक्रम निकै महत्ववपूर्ण रहेको चर्चा गरे । सांस्कृतिक कार्यक्रममा पोखरा महानगरका कार्यवहाक मेयर मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायत नेपाल र चीनका उच्च अधिकारी, कलाकार, तथा सांस्कृतिकप्रेमीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया