
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्ट बजारमा आत्याधुनिक शौचालय निर्माण गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र गाउँपालिकाको सयुक्त लागतमा एअरपोर्ट बजारको फलफूल कोशेली घर नजिकै दुई तले शौचालय निर्माण गरिएको हो ।
शौचालय भवन निर्माणका लागि गाउँपालिकाले ८ लाख ५० हजार र पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले ८ लाख रुपैँया लागत साझेदारी गरी निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिए । पर्यटन तथा उद्योग कार्यालयले अत्याधुनिक शौचालय भवनको फाउन्डेसन, पिल्लर संरचना र उपल्लो तला थप्न लागत साझेदारी गरेको कार्यालय प्रमुख पौडेलले बताए ।
शौचालय भवन निर्माण तथा शौचालयका लागि आवश्यक सामाग्री खरिदकार्यमा घरपझोङ गाउँपालिकाले लागत साझेदारी गरेको गाउँपालिकाका सवइन्जिनीयर राजन कडेलले जानकारी दिए । शौचालयको संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाले पाएकाे सवइन्जिनीयर कडेलको भनाइ छ ।
शौचालयको मासिक ११ हजार भाडा लिने गरी ठेक्का सम्झौता गरिएको छ । गाउँपालिकाको आन्तरिक राजश्वमा समेत टेवा पुग्ने र पर्यटकका लागि पनि सेवा पुर्याउने उद्देश्यले उक्त अत्याधुनिक शौचालय सञ्चालनमा आईसकेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
शौचालय भवनको माथिल्लो तलामा आवासक कोठा र भईतलामा महिला र पुरुषका लागि अलग/अलग शौचालयको व्यवस्था मिलाइएको छ । सेनेटरी प्याड प्रयोग गर्नका लागि समेत बेग्लै कोठा निर्माण गरिएको छ । शौचालय प्रयोग गरेवापत पर्यटकले तोकिएको शुल्क तिर्नु पर्ने हुन्छ ।
एअरपोर्ट नजिकै शौचालय नहुँदा पर्यटकलाई समस्या हुने गरेको थियो । होटलहरुमा पाहुनाले मात्रै शौचालय प्रयोग गर्न पाउने र होटलमा खाने बस्ने नगरेका पर्यटकलाई शौचालय उपयोग गर्न नपाइने समस्या थियो । शौचालय भवन सञ्चालनमा आएसँगै सार्वजनिक बस, जीप र मोटरसाईकलमा यात्रा गर्ने यात्रुले सहज रुपमा शौचालय उपयोग गर्न पाउने गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया