सेवा निवृत्त राष्ट्रसेवकमा नीलकण्ठ
पोखरा।
पेशागत महासंघ नेपालको घटक संस्थाको रुपमा रहेको सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । अधिवेशनले नीलकण्ठ पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा मुक्तिनाथ चालिसे, सचिव बुद्धिसागर खनाल, सदस्यमा विश्वनाथ पराजुली र एकनाथ गिरी छन् । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा हेमराज पौडेल र तोथनाथ लामिछाने चुनिएका छन् ।
सेवानिवृत्त राष्ट्रसेवक संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक भरतबाबु कट्टेलले अधिवेशन उद्घाटन गर्दै राष्ट्र राष्ट्रियता र सेवा निवृत्त राष्ट्रसेवकको गरिमा र मर्यादा अभिबृद्धि गराउने उद्देश्यले संस्था स्थापना भएको बताए । उनले सेवानिवृत्त भएका राष्ट्रसेवकलाई एकजुट बनाएर हकहितको संरक्षण र प्रवद्र्धनका अलवा जीवनस्तर सुधारका लागि संघले ध्यान दिने जानकारी दिए ।
पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनालले सेवानिवृत्त राष्ट्रसेवकको ज्ञान सीपलाई राष्ट्र निर्माणमा प्रयोग गर्न नेकपा (एमाले)ले खोलेको संस्था भएको बताए ।
‘समृद्ध नेपाल, सुखी नेपालीहरुको शान, राष्ट्र निर्माणमा सेवा निवृत्तको सीप र ज्ञान’ भन्ने नाराका साथ भएको अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तेजनारायण अधिकारी, पेशागत महासंघ नेपाल गण्डकीमा महासचिव बैकुण्ठनाथ आचार्य, कास्कीका सचिव राममणि ढुंगाना, नेकपा (एमाले) पोखरा महानगरपालिकाका सचिवालय सदस्य ईश्वरप्रसाद सुवेदी, कास्केली अधिकृत समाजका सचिव महेश पौडेल, सेवानिवृत्त राष्ट्रसेवक संघ नेपालका केन्द्रीय सदस्य नन्दलाल पौडेल, कास्कीका निवर्तमान कार्यवहाक अध्यक्ष हेमराज पौडेल, सचिव तोयनाथ लामिछाने, कोषाध्यक्ष मुक्तिनाथ चालिसे लगायतले सेवानिवृत्त राष्ट्रसेवकको सवालमा बोलेका थिए ।
अधिवेशनले कास्कीका सेवानिवृत्त राष्ट्रसेवकको अभिलेख तयार गरी अद्यावधिक गर्नुका साथै जिल्ला स्तरमा ज्ञान तथा सीपमुलक कार्यक्रम गर्ने योजनाअघि सारेको छ ।
तपाईको प्रतिक्रिया