उपचार खर्च नहुँदा छट्पटाइरहेका जनयुद्धका योद्धा

पोखरा । १० वर्षे माओवादी जनयुद्धको मैदानमा लडेका योद्धा फरकबहादुर श्रीस अहिले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शड्ढयामा छटपटाइरहेका छन् । युद्धमा गोलीसँग नडराएका उनी अहिले उपचार खर्चकै कारण जीवन–मरणको लडाईमा छन् ।
६७ वर्षीय श्रीस बागलुङको गलकोट ११ रिघाका हुन् । उनी चार वर्षदेखि फोक्सोमा पानी जम्ने समस्याले पीडित हुन् । उनलाई अहिले उपचारका लागि अपरेसन गर्नुपर्ने अवस्था छ । तर, आवश्यक फोक्सोको पानी फाल्ने पाइप किन्ने खर्च अभाव छ ।
श्रीसको उपचार पोखरास्थित गण्डकी मेडिकल कलेजमा त्यसअघि भएको थियो । तर, पछिल्ला दिन खर्च अभावकै कारणले अहिले उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारत छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सामाजिक इकाइ कोषबाट सहयोग गर्दै आए पनि बाहिरबाट किन्नुपर्ने औषधि र सर्जरीका लागि आवश्यक सामग्री किन्ने खर्च अभावमा समस्या आएको छ ।
‘फोक्सोको पानी फाल्ने पाइप आवश्यक छ, अस्पतालले सक्दो सहयोग गरिरहेको छ, तर बाहिरबाट किन्नुपर्ने औषधिका लागि पैसा अभाव छ भन्नुभएको छ । हामी जोडबल गर्दै छौं । सक्दो सहयोग भइरहेको छ । तर, पैसा जुटाउन आवश्यक छ,’ अस्पतालका डाक्टर अमृत पोखरेल बताउँछन् ।
श्रीस १० वर्षे सशस्त्र विद्रोहमा संलग्न थिए । माओवादीका आधार क्षेत्रमध्ये एक रुकुम पश्चिममा लामो समय काम गरेका उनी युद्धपछि खुला भए । बागलुङ माओवादी जिल्ला समिति सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष र अखिल नेपाल निर्माण संघको केन्द्रीय सदस्यसमेत बने । ‘युद्धका सहयात्री थिए, तर अहिले अस्पतालमा कुर्ने मान्छेसमेत छैन,’ श्रीस भावुक हुँदै भन्छन् ।
१८ वर्षअघि नै वैवाहिक सम्बन्ध टुंगिएपछि श्रीसले एक्लै संघर्ष गर्दै १५ वर्षीय छोरालाई हुर्काए । तर, छोराले आफ्नो पीडा नबुझेको उनी दुखेसो पोख्छन् । ‘दुख बुझ्ने छोरा भएन, म एक्लै परें,’ उनी भन्छन् ।
श्रीसलाई अस्पतालसम्म ल्याउने काम उनका पुराना साथी भरत यादवले गरेका हुन् । रेडियो सुन्दै गर्दा श्रीस बिरामी भएको खबर पाएपछि उनी अस्पताल लिएर आए । ‘उहाँले युवा अवस्थामा मलाई धेरै सहयोग गर्नुभयो, हामी साथी हौं । अहिले उहाँ संकटमा हुनुहुन्छ भनेर अस्पताल ल्याएँ,’ यादव भन्छन् । तर, उनी स्वयं दैनिक मजदुरी गरेर गुजारा चलाउने भएकाले आर्थिक रूपमा सहयोग गर्न सक्ने अवस्थामा छैनन् ।
अस्पतालमा कुर्नसमेत आफूले नसकेको उनी बताउँछन् । ‘मैले पनि दैनिक ज्यालादारी गरेर खानुपर्छ । अस्पतालमा कुरेर बस्दा पेट पाल्न मलाई पनि गाह्रो हुन्छ,’ उनी भन्छन् ।
उनकै पहलमा श्रीसको उपचाका लागि बागलुङमा केही सहयोगीले घरदैलो अभियान चलाएर ३० हजार रुपैयाँ संकलन गरेका थिए । तर त्यो रकम उपचारका लागि अपुग छ । अस्पतालको सेवा शुल्कमा केही छुट भए पनि बाहिरबाट किन्नुपर्ने औषधि, उपकरण तथा सर्जरी खर्च जुटाउन नसक्दा श्रीस अपरेशनको प्रतीक्षामा छन् ।
तपाईको प्रतिक्रिया