लेकसिटीमा नयाँ विद्यार्थीलाई स्वागत

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखराले शुक्रबार कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । स्नातक तह द्वितीय वर्षका विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरिएको हो ।
लेकसिटीले स्नातक तहमा बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य विषयमा पठनपाठन गर्दै आएको छ । कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विश्वविद्यालय शिक्षाका लागि पहिलो खुड्किलाका रुपमा लेकसिटीलाई रोजेको भन्दै विद्यार्थीलाई स्वागत गरे ।
उच्च शिक्षाको यात्रा प्रारम्भ गरेसँगै विद्यार्थीले केही कुरा स्मरण गर्नुपर्ने उनको भनाइ छ । ‘अब लेकसिटी कलेजमा तपाईहरु नयाँ अवसर, चुनौती र सफलतासँग भरिएको यात्रामा प्रवेश गर्दै हुनुहुन्छ,’ पराजुलीले भने । विश्वविद्यालय शिक्षा धेरै सफल मान्छेको जीवन परिवर्तन गर्न कोसेढुंगाको रुपमा रहेको उनको भनाइ छ ।
धेरैले आफ्ना लक्ष्य र उद्देश्य पहिचान विश्वविद्यालयबाट गरेको भन्दै उनले विद्यार्थीहरु केवल प्रमाणपत्र प्राप्त गर्ने कुरामा सीमित नभई परिचय निर्माण र सीप विकासमा पनि दत्तचित्त हुनुपर्ने उनको सुझाव छ ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले लेकसिटी कलेज स्थापनाको क्षण स्मरण गर्दै अहिले यो पोखराको नमुना शैक्षिक संस्थाको रुपमा विकास हुन सकेको बताए । कलेजमा विद्यार्थीको भर्ना, शैक्षिक गतिविधि र परिणामले समयसापेक्ष शिक्षा दिन लेकसिटी सफल रहेको उनले जनाए ।
क्याम्पस प्रमुख नारायण श्रेष्ठले वार्षिक रुपमा भएका विभिन्न गतिविधिबारे प्रकाश पारे । उनले विगतमा भर्ना भएका विद्यार्थी जस्तै नयाँ विद्यार्थीहरु पनि शैक्षिक र अतिरिक्त गतिविधिमा सक्रिय रहेको जानकारी दिए । कलेजका हरेक गतिविधिलाई अगाडि बढाउन विद्यार्थीको सक्रियताले प्रमुख भूमिका खेल्ने भएकाले प्रशासन नयाँ सोच अनुरुप क्रियाशील भइरहेको उनको भनाइ छ ।
सहायक क्याम्पस प्रमुख शोभकान्त सिग्देलले विद्यार्थीलाई अनुशासित भएर कलेजका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरे । विद्यार्थी विज्ञानराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम विद्यार्थीद्वय सुमिना पुन र ओसिन बरालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा विद्याथीले सांस्कृतिक प्रस्तुतिका रुपमा गायन, नृत्य र हास्यव्यंग्य पस्के । कलेजले आयोजना गरेको स्पोपर्टस् मिटका विजयी खेलाडीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा शिक्षक र विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कलेजका शिक्षकहरु सुरेशराज ढकाल, रोशिना कुँवर र सुशन थापालाई सम्मान पत्रका साथ सम्मान गरिएको छ ।
शिक्षक विष्णुप्रसाद अधिकारी र उनकी पत्नी कल्पना आचार्य अधिकारीलाई मायाको चिनो र दोसल्लासहित सम्मान गरिएको छ । त्रिविविको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिए र बिबिएस चौथो वर्षका विद्यार्थीद्वय सुजाता ढकाल र विक्रम थारु पनि सम्मानित बनेका छन् ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् । कलेजले शैक्षिक गतिविधिका अलावा विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम गर्ने गरेको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले हरेक महिना कचहरी कार्यक्रमसमेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया