
अचेल मदन–मुना दुवै विदेशिन्छन्
पोखरा ।
मदन धन कमाउने आशाले ल्हासा (तिब्बत) जान्छन् । घरमा पत्नी मुना र वृद्ध आमामात्रै हुन्छन् । विसं. १९९३ मा लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको ‘मुना मदन’का मदन र अहिलेको पुस्ताका मदनको कथा मिल्दोजुल्दो छ । फरक यत्ति छ कि त्यो मदन एक्लै विदेश जान्थे, अचेल त मदन जसैगरी मुनाहरु पनि विदेशिन्छन् । कतिपय ‘मुना’हरु भाच्चिएको दारुण व्यथासमेत बारम्बार सुनिन्छ ।
पोखरामा जारी ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवको पहिलो दिन शनिबार पोखरा थियटरमा मुनामदन नाटक देखाइयो । परिवर्तनले निर्देशक गरेको मुनामदन लक्ष्मीप्रसाद देवकोटाले रचेको त्यो मुनामदनको नामउस्तै भए पनि समय र परिस्थिति अनुसार कथामा केही परिमार्जन गरिएको छ । व्यथा उस्तै भए पनि वर्तमान परिस्थितिसँग त्यसलाई जोड्न खोजिएको छ ।
नाटकमा कथा, व्यथा सुनाउँदै हिड्ने गन्धर्बको माध्यमबाट अहिलको परिस्थितिलाई उजागर गरिएको छ । नाटकमा गन्धर्बकी सानी छोरीले सोध्छिन्, ‘बाबा आमा कहिले आउनुहुन्छ ?’ अर्थात्, गन्धर्बकी श्रीमती धनआर्जनका लागि वैदेशिक रोजगारीमा गएकी हुन्छिन् ।
‘अहिलेको पुस्तालाई त्यो मुनामदनको कथा थाहा नहोला ! त्यस कारण गन्धर्बले अहिलेको पुस्ताको कथा देखाएको छ भने मुनामदनको त्यो पुरानो कथा देखाएको छ,’ निर्देशक परिवर्तन सुनाउँछन् । नाटक मुनामदन भावनात्मक, करुणा र दारुण कथामा आधारित छ । नाटकका मुख्य पात्रको भूमिकामा परिवर्तन छन् । मुनाको भूमिकामा छिन्, कलाकार कृष्टि गुरुङ ।
नाटकमा २० जनाभन्दा बढी कलाकार छन् । साढे १ घन्टाको नाटकमा मदन धन कमाउन ल्हासा (तिब्बत) जान्छन् । ल्हासामा धन कमाएर फर्कंदा मदन बाटोमा असाध्यै बिरामी पर्छन् । साथीहरूले साथ छोड्छन्, तर एउटा भोटेले उनलाई उद्दार गर्छ । जब मदन घर पुग्छन्, मुनाको निधन भइसकेको हुन्छ । मदन पत्नी वियोग सहन नसकेर ढल्छन्, र उनको पनि मृत्यु हुन्छ । नाटकले सुख साँचो अर्थमा घर, परिवारसँगै हुन्छ भनी बाहिर धन कमाउन जाँदा हुने कष्ट देखाएको छ ।
निर्देशक परिवर्तन भन्छन्, ‘मुनामदन आफैंमा जटिल छ । मुनामदनको जुन वियोग छ नि त्यसको मुख्य कारण अहिले नेपाली समुदायमा बढेर गयो । देवकोटाले परिकल्पना गरेको वैदेशिक रोजगार बढेर कहाँ पुग्यो हेरौं त ।’ मुनामदन लिएर देशभरी पुग्ने परिवर्तन सुनाउँछन् । त्योभन्दा पहिले गण्डकी प्रदेशभरी पुग्ने योजना पोखरा थिएटरको छ ।
शनिबार पोखराका मेयर धनराज आचार्यले महोत्सव उद्घाटन गरेका हुन् । चैत १२ गतेसम्म चल्ने यसोमहोत्सवमा पाँच देशका ६ नाटक मञ्चन हुनेछन् । चीन, ट्युनिसिया, नर्वे र जापानका नाटकहरू विविध शैलिमा प्रस्तुत गरिनेछन् । विशेषगरी, चीनको मिनी ओपेरा र जापानको डान्स ड्रामा जस्ता फरक शैलीका मञ्चन मुख्य आकर्षण हुनेछन् । पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको छ ।
यस महोत्सवमा फोरम थियटर तथा कार्यशालाहरूसमेत समेटिएका छन् । संस्कृतिकर्मी, पर्यटन व्यवसायी, सञ्चारकर्मी र नाट्यप्रेमीबीच विशेष छलफल सत्रको कार्यक्रम पनि तय गरिएको छ । शनिबार, उद्घाटनकै दिन इन्द्रेणी थियटरले ‘इम्ब्रोनिक’ नाटक मञ्चन ग¥यो । चैत १० गते ‘द स्टेज इज कलिङ यु’ शीर्षकमा कलाकार दिया मास्के र प्रकाश घिमिरेसँग विशेष संवाद हुनेछ । त्यसै दिन साँझ ट्युनिसियाको नाटक पोखरा थियटरमा देखाइनेछ । तेस्रो दिन, चैत ११ गते चीनको मिनी ओपेरा ‘द चार्मिङ जिन्जु ओपेरा’ दर्शकले अवलोकन गर्न पाउनेछन्, जुन चार घन्टा लामो हुनेछ। सोही दिन साँझ पोखरा सांस्कृतिक तथा पर्यटन केन्द्र कसरी बन्न सक्छ भन्ने विषयमा मेयर आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग विशेष संवाद आयोजना हुनेछ ।
महोत्सवको समापन चैत १२ गते जापानको ‘मास्टर सोको एन्ड मार्गरिटा’ नाटक मञ्चन गरेर गरिनेछ। सोही दिन साँझ नेपाली र नर्वेली कलाकारको संयुक्त प्रस्तुति ‘द रोज’ नाटक पनि मञ्चन हुनेछ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया