
जोमसोम । जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भएको छ ।
असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्ने जस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था छ । जलवायुकै कारण पछिल्लो समय हिमालहरु कालापत्थरमा रूपान्तरण हुँदै थालेका छन् भने हिमनदीको स्रोत पनि सुक्दै गएको छ ।
यसरी जलवायु संकटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालन लगायतका क्षेत्रमा यसका नकारात्मक असर देखिन थालेका छन् । जलवायु संकटको यस्तै पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका २ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ ।
पहिले त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरमात्रै छन् । सम्जुङमा पूर्ववत् अवस्थामा घर यथास्थितिमा रहे पनि त्यहाँका मानिस विस्थापित भइसकेको पनि करिब डेढ दशक भइसकेको छ । त्यहाँ बर्खायाममा भेडाच्यांग्रा र याकचौँरी चौँरी रेखदेख गर्ने केही घरधुरीका कुरूवा बस्ने गरेको पाइएको छ । त्यसबाहेक लोमान्थाङ २ को सम्जुङ बस्ती रित्तो छ ।
जोमसोम कोरला मुख्य राजमार्ग सडकबाट झण्डै ५ घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको समजुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ । त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे । त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले बस्ती स्थान्तरणको मार्ग रोजे ।
जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीयले त्यहाँबाट बसाइँसराइ बाटो रोजे ।
निकै अग्लो पठार नांगो डाँडाकाँडाको फेंदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलावायुको संकट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जीविकोपार्जमा निकै नै ठूलो चुनौती सामना गर्न बाध्य भए । यिनै जलवायु संकटले गर्दा सिँचाइ, खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो ।
सम्जुङ गाउँ कहाँ सर्यो ?
उपल्लो मुस्ताङस्थित लोमान्थाङ २ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका १८ घरधुरीका पूरै बासिन्दा नामासुङमा सरेर नयाँ बस्ती निर्माण भइसकेको छ । राष्ट्रिय गौरवको जोमसोम कोरला मुख्य सडक मार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई निःशुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । त्यहाँ जलवायुले विस्थापित बस्ती समजुङको प्रत्येक घरधुरीलाई ४ चार आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे ।
मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा सम्जुङ गाउँलाई उपलब्ध गराइएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्ती प्रकृतिका घर, टहराहरू निर्माण गरेका थिए । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका पूर्ववडाध्यक्ष नवाङकुङ्गा लामा विष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ बस्ती संरचना निर्माण भएको हो । पूर्ववडाध्यक्ष विष्टका अनुसार सम्जुङबाट विस्थापित बस्तीलाई पुर्नवासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसँग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो ।
त्यहाँ एक स्वीजरल्यान्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशकअघि त्यहाँ बस्ती स्थान्तरण भएको लोमान्थाङ–५ का पूर्ववडाध्यक्ष विष्टको भनाइ छ । बस्ती स्थान्तरणका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेको वडाध्यक्ष विष्टले खुलाए । लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै सङ्कटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष÷परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थानान्तरण हुन पुगेको उल्लेख गरे ।
प्राकृतिक स्रोतहरूको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा बस्ती सरेको आफूले बुझेको उनको भनाइ छ । नामासुङमा स्थानान्तरण भएका घरधुरी कहिलेकाहीँ सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमित्त प्रशासकीय अधिकृृत केसीले उल्लेख गरे । नयाँ स्थानान्तरण भएको बस्ती नामासुङ पुग्न जोमसोम, कोरला सडक मार्गबाट १५ मिनेटको पैदल हिँडेर पुग्न सकिन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया